अन्तिम सर्को ताने पछि मलाई झल्याँस्स याद आयो। शिवरात्रीका दिन त्रिनेत्र खुल्नलाई धन देख्न नपर्दो रहेछ, एक लाखको याद मात्रैले पुग्ने। अरुले शुभदिनको दिन शुभकार्य सुरु गर्छन, बाह्रखरी लठ्ठुले चाहिँ शुभदिनको दिन शुभकार्यको अन्त्य भएको घोषणा गर्नेछ। "पापी ........! यस्तो प्रतियोगितामा नि कोही भाग लिन्छ?" धनको लोभमा चुर्लुम्म डुबाएर सारा दुनियाँलाई बेवकूफ बनाउँदा सम्म पनि आफू त्यसबाट प्रभावित नहुन सकेकोमा मलाई गर्वको अनुभुती भयो । म खित्का छाडेर हाँसे। हाँसो त मेरो छायालाई नि लागेको हुनुपर्छ, तर उसले खित्का छाडेन। मेरा बालाई राती सुतिसकेपछी हल्ला गरेको मन पर्दैन भन्ने उसलाई थाहा हुनुपर्छ । तर मलाई के मतलब ! त्यो कुरा मलाई थाहै थिएन।
गोजी रित्तो हुँदा त्यहि एउटो ठुटो पनि हजार बिन्ती गरेर पाएको यथार्थले एकपटक मलाई च्वाँस्स घोचेर एक पटकलाई वेबकूफ बनिदिन बिन्ती बिसायो। आखिर कुरो एक लाखको हो। हरेक दिन फुल प्लेट बफ म:म खाए पनि तीन बर्ष पुग्ने। एउटा कथा त लेख्नै पर्ने ... ..। घडी हेरे अझै म्याद सकिन तीन घण्टा बाकिँ। तर खै किन मैले हेरे पछि त्यो खुब बेतोडले दौडन थाल्यो । हेरेकै पाँच सेकेन्डमा पन्ध मिनेट दौडियो। " चड्कापड्कै भएछ!" मैले घडीका सुइ तिर धारे हात लगाउदै भने। अहँ उ दौडन रोकिएन। कनिष्ठ कथाकारले मलाई भ्रममा पार्न यस्तो गरेको हुनु पर्छ। मन मनै इखको सगरमाथा बनाएँ । "एउटा कथा त लेख्नै पर्छ.......।"
हरेक पाँच सेकेण्डमा एउटा शब्द लेखेपनी दुई घण्टामा हाराहारी पन्ध्र सय शब्दको कथा लेख्न सकिने। जब पन्ध्र सय शब्दमै एक लाख जित्नका लागि योग्य भइन्छ भने चार हजार शब्द लेखेर कसले औला दुखाओस। कथा लेख्ने सबै सङ मेरो जस्तो बुद्धि नहुन सक्छ। दुखी आत्माहरुले जितिन्छ कि भनेरै चार हजार शब्द कै लेख्दैहोलान। यो पटक म नहाँसे पनि छाँया भने जोडले खित्का छोडेर हाँस्यो। सायद कपिल शर्मा सो हेर्दै थियो। "बा उठे भने पख तेरो कुरा लगाइदिन्छु।" मैले थर्काए पछि ऊ सिरकले मुख छोपेर सुत्यो।
दिमागमा एउटा गज्जबको कथा फुर्यो। तर सुरु कसरी गर्ने भन्नेमा दोधार भो। " एकादेशमा" भनेर गर्ने कि " उहिले" भनेर ? केही बेर बहुतै गम्भीर भएर सोच्दा पनि निर्णय गर्न नसकेपछी चिठ्ठा हालेरै भए पनि चाडैं टुङ्गो लागाउन पर्ने भयो। चिठ्ठा हाल्दा " उहिल्यै " भनेर सुरु गर भन्ने आदेस प्राप्त भयो तर मलाई भने " एकादेश" बाटै कथा लेख्न मन थियो। मैले एक पटक पुर्लुक्क छायालाई हेरे, ऊ ऐना हेरेर गोरो हुनलाई पाउडर लगाउदै थियो। देखेपछी गिज्याउला भनेर मैले दुबै कागतका टुक्रा मुखमा हाले। अनिर्णयको बन्दी बनिरहदा मलाई कथा नलेखुँ कि झै पनि लाग्यो। यत्रैसित्ति ! मैले अघि बाँकि रहेको ठुटो फेरि सल्काएँ।
फोक्सोका कुनाकाप्चामा पुग्ने गरि फेरि एक मुस्लो तानेपछी आँखा चिम्लिएर गम खाएँ। "कति जनाले भाग लेलान?" धुँवाको मुस्लोले मस्तिष्कलाई रन्काउँदै गर्दा मेरो मनमा प्रस्न उठ्यो। कतै धेरैले पठाए, पढ्न भ्याइएन भनेर बित्ताले नापेर बिजयी घोषणा त गर्दैनन? प्रस्न संगसंगै शंका पनि उठ्यो । किनकी त्यसो गरे म माथी सबै भन्दा ठूलो अन्याय हुने छ। पन्ध्र सय शब्दको कथा त बित्ताभरी नि अट्दैन। अझ अरुका कथा सानो बित्ता भएको हातले र मेरो कथा ठूलो बित्ता भएको हातले नाप्यो भने? मलाई हराउन आयोजकले जे पनि गर्न सक्छ। मलाई साह्रै पिर पर्यो।
तान्दा खेरिको तुफानी वेगलाई भित्रै छोडेर नाकका प्वाललाई मन्द गतिमा बाहिर निस्केको नरम घुँवाले एक आकृती बनायो, मैले एक लाख छोपेको । यो स्वयम महादेब कै भबिस्यबाणी हो भन्नेमा मलाई कुनै शंका बाँकी रहेन । मेरो जित पक्का भयो। तर कसलाई सुनाउने यो खुसीको खबर? बालाई राती उठाएको मन पर्दैन। अनि छाया! ऊ त पेट घटाउन छ भनेर राती नै मर्निङ वाकमा गइसकेछ । झ्यालबाट बाहिर नियालेँ । छिमेकीको कुकुर बहुत इमान्दारिताका साथ आफ्नो डिउटी पूरा गरिराखेको थियो। उसैलाई गएर सुनाउँ कि । मनमा प्रश्न नउठेको होइन, तर मलाई मेरा खुट्टाको भर लाग्न छोडी सकेको थियो। टि. भि. खोले। कुनै पुरानो साउथ इन्डियन फिलिममा फाइटको सिन आइराखेको थियो। करिब नब्बे सयजनाको उपस्थिति रहेकाले त्यो माहोल खुसीको खबर सुनाउनका लागी अत्यन्त उपयुक्त थियो। हल्ला र गोलाबारुद चलिराखेका मैले भनेको कसैले नसुन्ला भनेर भोलुम घटाएँ र ध्यानाकर्षण गर्न एक दुई पटक खोकेर आफुले एक लाख जित्ने कुरा लगभग पक्का भएको कुरा सुनाएँ। टि. भि. बन्द गरेर ओछ्यानमा नबस्दै शंका जाग्यो " नेपाली बुझ्छन त तिनिहरुले?" अहँ मनले त्यत्ति मै मानेन। त्यत्तिकैमा एकाएक उपाय फुर्यो - गुगलमा हाल्दिन्छु।
"एकादेशमा दुइटा देश थिए । ती दुइटा देशमा दुइटा राजा थिए। दुइटैले एक अर्काका बहिनी बिहे गरेछन। त्यस पछि एकले आर्कालाई ज्वाइँ भन्ने कि जेठान भन्ने भनेर ठूलो बिबाद भएछ र त्यो बिबाद चर्किदै गएर युद्धको रुप लिएछ। युद्धमा दुबै राजा मरेछन। कुरा त्यत्तिकैमा सकिएन । राजाहरु मरेपछी रानीहरुलाई खुसी हौँ कि दुखी हौँ भएछ। बन्द कोठीमा उनीहरु श्रीमान मरेको सन्तापले रुँदै बस्दारहेछन , र एकले अर्कालाई देख्दा " मेरो दाइले तेरो दाइलाई मार्यो भनेर छिन मै फन्की फन्की नाँच्दा रहेछन र छिन मै आफ्ना पतिले अर्काको पति मारेकोमा क्षमा माग्दा रहेछन ......!"
कथा लेखनले गति लिदै गर्दा घडीले एकाएक समय सकिएको जानकारी गरायो । मेरा आखाँबाट तरर आँसुका थोपा चुहिए । भावविह्वल हुँदै मैले आफ्ना कथाका शब्दहरुलाई सुम्सुमाएँ। त्यहाँ सानदारको बफ म:मको झोलको स्वाद लुकेको थियो । हजार प्लेट भन्दा धेरै! मेरो आँखा संगै मुख पनि रसायो। मैले मुखको रसलाई सम्झनामा रहेको पिरो स्वादसंग घुँटुक्क निलेँ। ममा उर्जा प्रसार भयो। मेरो कथा नेपाली साहित्य जगतकै उत्कृष्ट सिर्जना हो भन्ने कुरामा ढुक्क भएपछी आफ्नो अनुपम सिर्जनालाई प्रतियोगितामा समाबेश गराउन कुनै पनि कसुर बाँकी नराख्ने अठोट लिएँ ।
१९७ मा फोन गरि तेस्रो घण्टीमा फोन उठाएर हेल्लो भन्न नपाउँदै मैले भने " भाइ बाह्रखरीको मालिकको फोन नम्बर देउ त।" मलाई बाह्रखरीको मालिक संग अनुनय विनय गरेरै भए पनि थोरै समय माग्नु थियो। एक घण्टा मात्रै दिएपनी मैले कथा लेखी भ्याउँथे। "ल ठिकै छ, गरि खा!" भनेर समय बक्सिस भए त्यो समयलाई मेरो उदय संग तुलना गर्दै इतिहासमा त्यसको महत्वको व्याख्या गरिने छ।
मैले भाइ भनेरै सम्बोधन गरेपनी उताबाट बहिनीको ( अन्टी नि हुन सक्छ) सुमधुर स्वर आयो, " कुन बाह्रखरी ?" मेरो आत्मसम्मानमा भयंकर ठूलो ठेस लाग्यो। म जुन अनलाइन पत्रीकाले आयोजना गरेको प्रतियोगिताका लागि कथा लेख्दै थिएँ उसलाई त्यसको नामै थाहा रहेन छ। मेरा कन्सिरीका रौ रनक्क तातेर आए। " तलाई जागिर खान मन छैन? त जैरीले कुन बाह्रखरी भनेर सोध्ने। घुस खुवाएर छिरिहोस जागिरमा?"
" हाम्रोमा हजुरको बोली रेकर्ड भएको हुन्छ, तपाईं फाल्टु कुरा नबोल्नुस।" उसले उस्तै सुमधुर स्वरमा डर देखाई।
" हो रेकर्ड गरेर राख। त्यही रेकर्डले तेरो जागिर खाइदिन्छु।" मेरो रन्केको रिसमा घ्यु थप्न उसले फोन थपक्क राखिदिइ। म इगोको धुरीबाट खसेर भुइँमा पछारिएँ। एक लाखको लगभग बिजेतालाई नि भाउ दिँदैनन यार।
सही समयमा सही निर्णय गर्न सक्नु नै सफलताको प्रमुख कारण हो। त्यसैले भोलि बिहान कै बसमा काठमाडौ गएर बाह्रखरीका मालिकलाई नेपाली साहित्य जगतको एक चम्किलो नक्षत्रले साक्षात दर्शन दिनु नै मेरोलागी अन्तिम बिकल्प रह्यो। बाकिँ कथा बस मै लेख्ने। लेख्दा छेउको सिटको मान्छेले चोर्छ कि भनेर कोड भाषा प्रयोग गर्ने र काठमाडौ मै गएर डिकोडिङ गर्ने निर्णयका साथ हलुका मनले मैले अर्को ठुटो सल्काएँ। नम्र भएर विनम्र अनुरोध गरेपछी मानिहाल्लान नि। नमाने बरु पाउ नै पर्छु, बलिन्धारा आँसु चुवाउँछु, भुइँमा खुर खेल्छु। आफ्नो कथालाई सरिक नगराए आत्महत्या गरिदिने धम्की सम्म दिन्छु। त्यति गर्दा नि नमाने म बाँच्नुको कुनै अस्तित्व हुदैन। र इतिहासले त्यसलाई 'सम्भावित चम्किला नक्षत्रको भ्रुण हत्या' भनेर व्याख्या गर्ने नै छ। निलकण्ठको कृपाले म सधै अमर रहने छु। सल्किएको ठुटो र मेरो होस संगसंगै सकिए। म शुन्यताको अनन्त गहिराही नाप्न शुन्यता मै डुबि रहेँ....।

No comments:
Post a Comment