Tuesday, April 2, 2019

नमरी स्वर्ग देखिँदैन! बिरामी नपरी अस्पताल नि?

प्रसंग १
सानो छँदा गाउँमा एक जना आफन्ती बाजे हुनुहुन्थ्यो। उहाँलाई हामी सबैले 'सुपारी बाजे' भनेर बोलाउँथ्यौं। दाहिने गालामा भुक्क उक्सिएको डल्लो देख्दा लाग्थ्यो, उहाँ सधैं सुपारीको डल्लो मुखमा च्याप्नुहुन्छ। 
केही वर्षपछि त्यो डल्लो बढ्न थाल्यो। हामीलाई पनि लाग्यो, सानो सुपारी हात्तीको मुखमा जिरा भएरै बाजेले ठूलो सुपारी च्याप्न थाल्नुभयो होला। तर एक दिन एक्कासि गाउँमा सुपारी बाजे मुखको सुपारी फाल्न लखनउ जानुभयो रे भन्ने हल्ला चल्यो। फर्केर आउँदा अनुहारको त्यो चमक उतै हराएर आउनुभयो। 
उहाँलाई क्यान्सर भएको गाउँमा खासखुस चल्न थाल्यो । लखनउबाट फर्केको केही महिनापछि उहाँका घाँटीमा पहिलेकै झैं साना-ठूला सुपारीका दाना फल्न थाले। ती बिस्तारै ठूला हुन थालेपछि निराश मन बोकेर फेरि लखनउ जानुभएको सुपारी बाजे फर्केर फेरि आउनुभएन। त्यसपछि गाउँका सबै मिलेर एउटा निष्कर्ष निकाले– जिउमा जेसुकै फले पनि काटेर फाल्नचाहिँ हुन्न।
प्रसंग २
हामी स्कुल पढ्दा सुन्थ्यौं- छिमेकी ठूला बाले खोकेका बेला कम्मरमुनि अगाडिपट्टि डल्लो निस्किन्छ। हामी पनि बेला-बेलामा, 'खै ठूला बा, तपाईंको कम्मरको डल्लो देखाउनुस् न' भन्दै जिस्काउँदा उहाँ बाँसको सिप्किनो समातेर हामीलाई धपाउँदै 'मेरो धनको सुर्केथैली तिमी चमारहरुलाई किन देखाम?' भन्नुहुन्थ्यो। 
सुपारी बाजेको घटनाले नराम्ररी तर्सिएको उहाँलाई हर्नियाको अप्रेसन समयमै गर्न धेरैले सुझाव दिए। तर उहाँले अनेक बहानामा आलटाल गर्नुभयो। छोराछोरीले अनुनय विनय गर्दा झन् 'म बूढालाई चाँडै  मारेर सम्पत्तिमा राज गर्ने रहर होला है?' भनेर मुखभरीको बुझो लगाइदिनुहुन्थ्यो। ठुला बाको धनको थैली कागतीको गेडोबाट सुन्तलाको गेडोभन्दा ठूलो भएपछि डल्लोलाई पेटभित्रै दबाएर राख्न पटुका बाँध्न थाल्नुभयो। खोक्दा भुर्लुक्क उठ्ने डल्लो एक दिन खपिनसक्नु दुखेपछि उहाँलाई बुटवल हुँदै काठमाडौं पुर्‍याइयो। त्यहाँ आन्द्रा नै काट्नपर्ने भएपछि करिब  तीन हप्ता अस्पतालमा बसेर फर्कंदा हातको सुनको औंठी पनि उतै सेलाएर आउनुभएछ। ज्यानमा केही फुर्ती आएपछि छरछिमेक भेलामा उहाँले 'उपचार गराएर दु:ख पाउनुभन्दा त खुत्रुक्कै मरेको सही' भन्ने  दिव्य ज्ञान दिन कहीँ कतै छोड्नुभएन। गाउँलेले पनि त्यसलाई गीताको पवित्र उपदेशझैं शिरोधार गरे।  
प्रसंग ३
चिकित्साशात्र अध्ययनका क्रममा 'प्रसूति तथा स्त्रीरोग' विभागमा पोस्टिङ हुँदा एक दिन करिब ६५ वर्षकी बूढी आमैले ओपिडीको अन्त्यमा मेरो अगाडि आएर तर्तरी आँसु खसालिन्। मैले थोरै सान्त्वना दिँदै समस्याका बारेमा सोधेपछि उनले भक्कानिँदै भनिन्, 'डाक्टर बाबु, मलाई सराप लागे। अघिल्लो जुनीमा के पाप गर्‍या रहिछु र मैले खै? भन्न पनि लाज लाग्ने कुरा, कसरी सुनाउने, हजुरलाई?' 
कुरा बुझ्दा आमाको पाठेघर खसेको रहेछ। जिवित मात्र आठ जना सन्तानकी आमाले करिब १५-१६ वर्षदेखि आफ्नो समस्यालाई पापका रुपमा स्विकार्दै बहुत कष्टकर जिन्दगी बिताएकी रहिछन्। कान्छी बुहारीले खसेको पाठेघरको मुखमा घाउ भएको थाहा पाएपछि उपचार गराउन मनाएकी रहिछन्। बूढी आमैलाई पाठेघर खस्नुका कारण बताई त्यो कुनै पनि पापका कारणले नभएको जानकारी गराउँदा पनि उनले एउटै प्रश्न सोधिरहिन्, 'म पापिनी नभए किन मेरो मात्र पाठेघर खस्यो त?'
OOO
यी तीन प्रसंगले नेपाली समाजमा स्वास्थ्य सम्बन्धी चेतना कति छ त भन्ने कुरालाई केही हदसम्म भए पनि छर्लंग पार्छ।
हाम्रा लागि रोग खालि रोग मात्र नभएर पाप वा गलत कर्मको फल पनि हो। गलत कर्मले रोग लाग्छ भन्ने समाजमा अस्पताल जानेहरु थोरबहुत पापी नै हुन्। सहर बजारमा यो सोचमा व्यापक परिवर्तन आए पनि देशका दुरदराजका जनतामा अझै पनि यो सोच पाउन सकिन्छ। मुख्यगरी पहाडी ग्रामीण भेगमा कोही बिरामी भइहालेमा पहिला धामीझाँक्रीकहाँ लैजाने कि अस्पताल लैजाने भनेर अझै पनि मानिस दुविधामा पर्दछन्। त्यसैले त कहिले झारफुकको बुटी बाँधेरै अस्पताल आइपुग्छन् त कहिले अस्पतालका गोलीहरु बोकेर धामीका दैला ठोक्न पुग्दछन्। आधुनिक चिकित्साशास्त्रको वैधानिकतामाथि नेपाली समाज अझै पनि अन्योलग्रस्त छ।
हामी नेपाली 'नमरी स्वर्ग देखिँदैन' भन्ने कुरामा मात्र होइन 'बिरामी नभई अस्पताल जानु हुँदैन' भन्ने कुरामा पनि पूर्ण रुपले विश्वास गर्दछौं। हाम्रा लागि नियमित स्वास्थ्यको चेकजाँच त केवल फजुल खर्च र धनीमानीले देखाउने रवाफ मात्र हो। उस्तै परे 'बाँच्न कति रहर लागेको होला यसलाई' भनेर व्यंग्य पनि हान्न पछि पर्दैनौं। नियमित स्वास्थ्य जाँचमा खर्च हुने रकमले कति प्लेट म:म, कति किलो खसीको मासु वा कति बोतल बियर आउँछ भन्नेमै हाम्रो सुर्ता हुने गर्दछ। आफ्नो स्वास्थ्यका लागि गरिने लगानीका सवालमा हामी सबैभन्दा बढी कन्जुस छौं।
कहिल्यै अस्पताल नटेक्नु हाम्रा लागि गर्वको विषय हो। 'यो मुखमा अहिलेसम्म अस्पतालको एउटा पनि गोली परेको छैन' भन्दै चौतारी र चिया पसलमा आफ्नो पराक्रमको बयान गर्नेहरु अझै पनि छ्यापछ्याप्ती भेटिन्छन्। बिरामी नपर्नु साँच्चिकै उदाहरणीय कुरा हो तर आफ्नै स्वास्थ्यप्रति सधै अनभिज्ञ रहनुलाई गर्व गर्न लायक कुरा मान्न सकिँदैन। 
एक पटक मधुमेह दिवसका दिन काठमाडौंको कृष्ण मन्दिर परिसरमा सञ्चालित नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा वरपरका वृद्धहरुलाई आवश्यक सल्लाह दिएर परीक्षणका लागी राजी गराउनुपर्ने जिम्मा मेरो थियो। यही सिलसिलामा एक जना वृद्धलाई अनुरोध गर्दा 'मलाई के भ'को छ र जँचाउने? ७० वर्षको उमेरमा पनि इ: यसरी ठमठम्ती हिँडेकै छु क्यारे। बरु हेर त तेरो अनुहार, बैंसमै कति निन्याउरो भ'को। जुँगा पनि राम्ररी नआउँदै कपाल पनि फुलिसकेछ। जा बरु तैले जाँच गरा' भन्दै हप्काएको कुराले अझै पनि झस्काइरहन्छ।
हामी कतिपय सित्तैमा पाउँदा पनि जिन्दगीभर कमाएको पुण्य नाश होला भनेझैं स्वास्थ्य जाँच गर्न हिच्किचाउँछौं। एक जना मोटाघाटा सहकर्मीलाई रक्तचाप नाप्न सल्लाह दिँदा 'भो छोड्दे यार, हाई भए मासु खान पाइँदैन' भन्दै पन्छिएका थिए। परदेशबाट फर्केका एक जना गाउँले दाइलाई मजाकमै एचआइभी परीक्षण गर्न सुझाव दिँदा 'अहँ हुँदैन। पोजेटिभ आयो भने बर्बाद हुन्छ। त्यसपछि कसलाई बिहे गर्ने मैले?' भन्दै उल्टै प्रश्न तेर्स्याएका थिए। 
हामीलाई के लाग्छ भने रोग भन्ने जिनिस स्वास्थ्य परीक्षण गरेपछि मात्र उत्पत्ति हुन्छ र त्योभन्दा पहिले हामी सबै स्वस्थ हुन्छौं। स्वास्थ्य परीक्षणबिना रोगले आफ्नो उपस्थितिको जानकारी गराउनै सक्दैन भन्ने कुरामा हामी बेलाबखत पूर्ण रुपले ढुक्क भइदिन्छौं।
बिरामी परिहालेको खण्डमा पनि हामी नेपालीले एकदम पृथक् सोच राख्दछौं। 'ज्वरोलाई दुई-चार दिनसम्म आउन दिनुपर्छ' भन्ने होस् वा 'पेट सफा बनाउन भए पनि वर्षमा कम्तीमा एकपटक पखाला लाग्न दिनुपर्छ' भन्ने नै किन नहोस्, यस्ता कुरा हामीले बिनाअनुसन्धान नै पत्ता लगाइदिन्छौं। जन्डिस भएका मान्छेले बेसार खानु हुँदैन भन्नेदेखि लिएर माछामासुले घाउ पकाउँछ भन्ने जस्ता कुरा खोइ कुन महापुरुषले कुन शताब्दीमा पत्ता लगायो त्यो कुरा गौण नै भए पनि उसको दिव्य ज्ञानलाई कुनै पनि प्रश्न नउठाई पूर्ण रुपले पालना गर्दै आएका छौं। समाजमा व्याप्त रहेका यस्तै अन्धविश्वासले गर्दा कहिलेकाहीँ बिरामी अस्पतालसम्म आइपुग्दा निकै नै बेर भइसकेको हुन्छ। र, यस्तै विलम्बले गर्दा हुने अप्रिय घटनाले समाजमा स्वास्थ्य संस्थाप्रतिको विश्वास झनै घट्न पुग्दछ। 
हाम्रो देशमा सरकारी स्वास्थ्य संस्था सस्ता भए पनि निजी स्वास्थ्य संस्थाको तुलनामा निकै कम छन्। अधिकांश निजी स्वास्थ्य संस्था आम नागरिकको आर्थिक हैसियतले नभ्याउने खालका छन्। थोरै मात्रामा खुलेका सरकारी स्वास्थ्य संस्थामा अधिक मात्रामा बिरामीको चाप बढ्नाले सेवाको गुणस्तरमा ह्रास आउने गरेको छ। समयमै चाहेको उपचार पाउन नसक्दा सरकारी स्वास्थ्य संस्थाप्रति नागरिकको मोह घट्दै गएको छ भने निजीमा चर्को शुल्क असुल्ने भएकाले बिरामी सितिमिति गइहाल्ने आँट गर्दैनन्। अस्पताल छिर्नुअघि दुई छाक खान पुग्नेलाई फर्कंदा कतै कंगाल त भइँदैन भन्ने शंकाले फतक्कै गलाउँछ। त्यसैले त आम मानिस आजभोलि रोग पालेर बस्न बाध्य छन्।
हामी नेपाली बेतुकका अफवाह फैलाउन पनि माहिर छौ। अझ हल्लाका पछाडि झुन्डिएको 'रे' लाई हटाइदिएर हल्लालाई पनि ध्रुवसत्य बनाउन हामीलाई जति अरु कसैलाई पनि आउँदैन। उपचार गरी फर्केको अधिकांश बिरामीले समाजमा नकारात्मक कुरा नै फैलाउँछन् र अस्पताल भन्ने जानै नहुने ठाउँ रहेछ भन्ने भ्रम पैदा गर्दछन्। क्यान्सर होस् वा अरु कुनै कारणले शरीरका कुनै भाग काटेर फाल्दा पनि त्यसमा डाक्टरलाई नै दोषी ठहर्‍याइन्छ, मानौं कि अस्पताल नगएको भए बिरामीको अंग बाँच्दथ्यो। समाजको एक झुन्डले यसलाई हावासरी फैलाइदिन्छ र यस्तो अवस्थामा एउटा व्यक्तिले गर्ने अठोट भनेकै सकेसम्म अस्पताल नजाने नै हो।
लाज, डर वा भ्रम जेसुकैले होस्, हामी नेपाली अस्पताल जान खुबै हिचकिचाउँछौ। अनि त रोगले हामीमाथि एकछत्र राज गर्न पाउँछ। 
'रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्न नै नदिनु जाती' भन्ने कुरा बच्चादेखि नै रटान लगाए  पनि हामीले त्यसलाई व्यवहारमा उतार्न सकेका छैनौं। नियमित स्वास्थ्य चेकजाँचले निकट भविष्यमा लाग्न सक्ने रोगको रोगथाम गर्न सकिने र केही रोगलाई जटिल हुनुपूर्व पत्ता लगाई त्यसको सजिलै निदान गर्न सकिने हुँदा हाम्रो समाजमा यसको महत्त्वको चर्चा हुन आवश्यक देखिन्छ। रोग लागेमा जतिसक्दो चाँडो निदान गर्नु नै उपयुक्त ठहरिन्छ। रोग पालेर बस्नु आफूले आफैलाई सजाय दिनु सिवाय अरु केही होइन। त्यसैले नियमित स्वास्थ्यको चेकजाँच गरौं, आफू पनि स्वस्थ जिन्दगी बाँचौं र अरुलाई पनि स्वस्थ भई बाँच्न हौसला प्रदान गरौं।

[Published on SwasthyaKhabar Patrika:-  https://swasthyakhabar.com/story/27489 ]

No comments:

Post a Comment

Miseries of women suffering from mental illnesses

  “Why do you make these regular visits? Is it because you like me? Do you really want to have an intimate relationship with me? Please lock...

Don't miss...