गाईलाई कुँडो पकाउँदै गरेका गोरेको बाउलाई गोरेको एकोहोरो रुहाइले झिझ्याइ रहेको
थियो। पिटम्ला भन्ने संकेत गर्दै २/३ पटक
हात उज्जाएका पनि हुन, तर अहँ गोरे रुन छोडेन। आमा लिखुरिले
आटो पकाएर, छोरी बोधिलाइ खुवाएर बाख्रा गोठाला
पठाउदा सम्म ऊ आँगनमा खुट्टा फालेर रोइ नै राख्यो! नाकको सिंगान माथिल्लो ओठको
डिलबाट बगेर मुख भित्र पस्नैलाग्दा बेला बेलामा स्वाठ्ठ तान्थ्यो र सिंगानले भिजेको
ओठलाइ जिब्राले चाट्थ्यो। केहि
बेर अधि सम्म ग्वाग्वाको रुवाइ सुकेर घुक्क
घुक्कमा परिबर्तन भैसकेको थियो। हिजो खाएको
नयाँ परिकारको स्वाद अझै सम्म उस्को जिब्रोमा ताजै थियो । आमालाइ नि त्यही खाने
भनेर बिहानै भनेको हो, तर आमाले दुइ झापड दिएपछी नित्यकर्म
सुरु भएको थियो उस्को, बिहान बिहानै रुने ।
"अहिले बजाम्ला स्वास्तन, किन नेपर्याछस?"
बाले एक पटक फेरी मकैको खोयाले झटारो हाने।
"नाइ
आज मैले त्यही खानि हुँ! तर आमैले पकाउनै मानिछैनिन ।"
गोरेले रुन्चे स्वरमा जिद्धि गर्यो | कुँडो
पकाएर गाइलाई खुवाएर आगो ताप्दै बसेको गोरेको बाउ एक्छिन मौन भयो। आगनमै आइपुगेको
माघे सक्रांन्तीले उसलाइ पिरोलेको थियो। माघ चार गते त मुद्दाको फैसला हो – ऊ मनमनै आत्तियो ।
"मर्न
नसकेकी राणले मेरो बाउको सम्पती हडप्ने भै!" उस्ले आत्तिएको मनले मनमनै आफ्नी बिधवा भाउजुलाइ सराप्यो । भाउजुले मुद्दा जिते बगरे खेत उस्ले
भाउजुलाइ बुझाउन पर्ने छ। यो कुराको यादले मात्र उस्को मन अमिलो भएर आयो ।
"ओए तेरा बाहानको मुखमा बुझो
हाल्देतो।"
उसले बिधवा भाउजु माथिको रिस स्वास्निलाइ
पोख्यो। तर किन पोख्यो ऊ आफैलाई थाहा भएन| उसकी स्वास्नी उसको रिस पोख्ने भाँडो
थिइ | केटि नहेरी बिहे गरेको हुनाले त्यसलाई उसले आफ्नो हाक सम्झन्थ्यो र बेलाबखत
रिस पोखिरहन्थ्यो |
“बिहानै देखी गोज्याङ्ग्रा पकाइदे भनेर हैरान
पारिरा छ । हिजो त्यो राणिले खै के खान दिइछे? त्यही
चाहियो भनेर मेरो मासु अमिलो पारिसक्यो।“
लिखुरी
मझेरीबाटै च्याँठिइ | गोरेका बाउका कन्सिरिका रौ एक्कासी तातेर आए।
"ओए तलाई पिठो पोला, तेरो त्यो बन्चरो नाचिरहने भुँडीमा
तेरा बाको काट्टो हाल्देकै छु त। नपुगेर गाउँ गाउँ ढुक्दै हिँडेर शत्रु हसाउँछस|"
बल्दै
गरेको अगुल्टो सहितको दाउरोले
हानेको झटारो गोरेको बर्बन्नीमै लाग्यो। उ झन डाँको छोडेर रुन थाल्यो। हातमा
लागेको खरानी टक्टक्याउदै गोरेको बाउले गम खायो – होइन यो गोज्याङ्ग्रा भन्ने
कस्तो चिज रहेछ |
******
हिजो गोरे तल्लार बिरे र पुतलीलाइ बटुलेर लुकामारी खेल्दै थियो। पुतली खुब बाठि
थिइ, उसलाई भेट्याउनै गार्हो पर्थ्यो। ऊ
कहिले गोठका तालामा त कहिले सिमिका झ्याङमा लुक्थि । धेरै दिन देखी पुतलिको पालोमा
खत्रा ठाउँमा लुक्ने प्लान बनाएको थियो उस्ले। जब हिजो पुतलिको पालो आयो तब उसले
पुतलिले नभेट्याउने ठाउँ सम्झन थाल्यो। पुतलिले गन्न सुरु गरेपछी उस्को मुटु जोडतोडले
भड्किन थाल्यो। जहाँ भए पनि लुकिहालम भन्ने भाबनाले आत्तिदै जेठि आमाको ( बाउको
भाउजु) घरको मइरोको पछाडी टुसुक्क बस्यो। उस्कि आमाले उसलाइ जेठि आमा बोक्सी भएकोले
त्यहाँ नजानु भनी चेतावनी दिएकी थिइ। तर ऊ आज एक्कासी केहि नसोची त्यहाँ लुक्न
पुगेको थियो। उठेर जावस भने पुतलिले भेट्याउली भन्ने डर नजावस भने बोक्सी जेठि
आमाले खालिन भन्ने डर, धर्मसंकटमा ऊ धेरैबेर तेहि बसिरह्यो।
धेरै बेर सम्म पुतलीले उसलाई भेट्टाउन सकिन |
पुतलीले खोजिरहेकी होलि भन्ठानेर ऊ त्यहाँबाट उठेर गइहाल्न सकेन | साँझ
प्रत्यक पलमा छिप्पिदै
र उस्को घाँटी सुक्दै गएको गयो ।
एक्कासि जेठि आमाको दैलो उघारियो। जेठि आमा
थालिमा दियो लिएर मइरो तिर बढीन । पति बितेको बरषी सात महिना अघि सकिएपछि उनले
पहिले जस्तै हरेक साँझ मइरोमा दियो बाल्न थालेकी थिइन। मइरो पछडिको कालो आकृती देखेर
उनले अलि परैबाट सोधिन्
"को
हो हँ त्यो मइरो पछाडी?"
जेठि आमाको गर्जन सङै गोरेको हंसले ठाउँ
छोड्यो। डरले लगलग काम्दै उठेर रुन्छे स्वरमा भन्यो
"म
हुँ जेठआँ, गोरे"
" मर्नलाई आको होस?"
जेठि आमा फेरी गर्झिन। उनको प्रस्न सङै गोरेका
तालु सुकेर आयो। डाँको छोडेर रुन मन लागेनी उस्को रुद्र घण्टी जाम भएर आवाजै आएन।
आफ्नी आमाले त्यो बोक्सी हो, त्यस्का
घर नगएस भन्ने कुरा झलझली सम्झियो र सम्झियो आफ्नै ठुला बाउलाइ बाँसमा बाधेर टुँsss टुँsss पार्दै लगेको। के उसको पनि अब यहि गति होला त? जेठी आमालाई छिमेकीले
पोइ टोकुवा भनेको सुनेको भए पनि पत्याएको थिएन, तर आज उसलाई हो कि झैँ लाग्यो |
"तेरो बाउले यहाँ आको देख्यो भने मार्छ
तलाई।"
जेठि आमाको पछिल्लो वाक्यले गर्दा उस्को परान
केहि बौरिएर आयो। तैपनी उसका गरुङ्गा गोडा
चलेनन। दियो बालेर उठेपछी
जेठि आमाले गोरे तिर हेरेर फेरी भनिन
" यो त अझै यहीँ रहेछ।" उसलाइ के गरुँ के गरुँ भयो। तर केहि गरिहाल्न
सकेन |
"ल गोज्याङ्ग्रा खा"
उनले थालीबाट सानो मालपुवाको टुक्रा निकालेर दिँदै भनिन। ऊ मालपुवाको
टुक्रो समालेर दौडियो। बोधिलाइ दिन पर्छ भनेर घर भित्र नछिरी गोठमा गयो। कहिले
मालपुवा नखाएको गोरेलाइ असाध्य मिठो लाग्यो। ठुली आमाले ‘ल गोज्याङ्ग्रा खा’ भनेर
दिएकोले उस्ले मालपुवाको नाम गोज्याङ्ग्रा हो भन्ठान्यो। खाइवरी सकेर घरको दैलो
छिर्ने बेलासम्म उसले योजना बनाइसकेको थियो - भोली बिहानै आमालाई गोज्याङ्ग्रा
बनाउन लगाउने र पेट भरी खाने।
No comments:
Post a Comment