बिजयी आफुलाई बनाई
लगाए क्विन्टलका माला
दिए समृद्धिका भाषण
चुसी हाम्रो जिन्दगीका रङ्ग
रङ्गाए आफ्ना फोक्से गाला
हामीले दिएको भोटले !
बाँडे सपनाका हजारौं बाकस
भित्र रित्ता! बिल्कुल रित्ता!
दुई हातले खुवाएको लोप्पा सरि
खिस्रीक्क पार्ने रित्ता बाकस
न आन्दोलनले भरियो!
न अस्वासनले भरियो!
भरियो त केबल उनका धुकुटी
हामीले दिएको भोटले!
जनताको शासन आयो रे!
दिल्ली बाट किनेर ल्याएको
भन्सार छुट सहित!
तर त्यो शासनले
नत जनताको पेट भरियो
न त हात खुट्टा नै तातिए
न हैजा डरायो,
न त एउटि चेली बलात्कृत हुदा कोहि करायो!
कराए त केबल कलियुगका हनुमान
आयातित नक्कली जनताको शासनमा
जबर्जस्ति सक्कलिको छाप लगाइयो
हामिले दिएको भोटले!
रेमिट्यान्सले किनेको चिनी हालि
जनताको पसिनाको सर्बत पिउँदा
मधुमेह र रक्तचापले गलेपछी
नजिकका केहि देखिएनन
देखिए त केबल बिदेशी अस्पताल
अनि टक्टकाइयो देशको ढुकुटी
साढुको भान्जालाइ कुरुवा राख्न मिल्ने गरि!
दुइ बोत्तल सलानी
अनि दुइ महिने आराम!
हाम्रा भाग्य बिधाता!
हाम्रा आश भरोसा !
सार्है बिरामी पर्न थाले
जनताको शासन आए पछि
हामिले दिएको भोटले!
सत्ताको कुर्सीका खुट्टा बाँडफाँड
भत्ता र सुबिधामै तछाडमछाड
बिल्कुल बुढा गोरुहरु!!
न भोजन नै!
तर पनि पाल्नै पर्ने!
न तिनलाई दैबले लान्छ!
न तिनलाई पिचास लाग्छ!
दसैंको आशिर्वाद मनग्ये पाएका
चिरञ्जीवी बुढा गोरुहरु
हाम्रो आयु छोट्याएर
आफ्नो आयु बढाइ रहेछन!
केबल हामिले दिएको भोटले!
No comments:
Post a Comment