हजुरबाले सधैं धूलोको सुर्के टीको लगाउनु हुन्थ्यो, खोपाबाट झिकेर । शिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न जाँदा सोही समयमा मोहन शमशेर महाराजको पनि सवारी भएकाले उनको घोडाले टेकेको ठाउँको धूलो टिपेर ल्याउनुभएको । भन्नुहुन्थ्यो, “शासक भनेका विष्णुका अवतार हुन्, उनका बहानको खुरको धूलोमा नि सत्त हुन्छ ।”
समुद्रका बीच शेषनागमाथि सुत्ने नारायणले युगैपिच्छे अनेक अवतार लिएर यस धर्तीको कल्याण गरेझैं विभिन्न कालखण्डमा अनेक रूप धारण गरी मेरो देशमाथि कृपा बक्सिने हजुर पनि सुदर्शनचक्रधारी नारायणकै अंश हो भन्नेमा कुनै द्विविधा छैन । हजुरबाका लागि राणा, बाका लागि राजाजस्तै मेरा लागि हजुर पनि परमपुज्य भगवानसरि हुनुहुन्छ ।
बाको अर्ति मानेर १४ वर्ष वनबास बस्ने रामचन्द्र र झापा काण्डमा लोकको कल्याण गर्न ठ्याक्कै १४ वर्ष जेलबास गर्ने हजुरको पराक्रममा म कुनै भिन्नता देख्दिनँ । १४ वर्ष वनबास गर्दा न रामचन्द्रलाई रावणले नै सिध्याउन सक्यो, न त १४ वर्षको जेलबासमा हजुरलाई टीबीले नै लैजान सक्यो । दैवीशक्तिका अगाडि झिनामसिना कुराको केही लाग्दो रहेनछ । हजुरकै उपस्थिति र सहयोगका कारण अल्पमतै भए पनि नेपालमा पहिलोपटक साम्यवादी सरकार गठन सम्भव भयो । त्यो हजुरको लीलाको उत्कृष्ट नमुना थियो । तर, पापीहरूले ९ महिने सरकार भनी खिल्ली उडाउँदा मेरो मन कटक्क दुख्छ । कलियुग हो हजुर यो, पापीहरूको बिगबिगी छ यहाँ ।
शनीको बक्रदृष्टिबाट भगवान् पनि बच्न सक्दैनन् भन्ने कुरा हजुरको प्रथम प्रधानमन्त्रीत्व कार्यकालमा अकस्मात् बज्रबात आइलागेको देखेर प्रष्ट भयो । कुलद्रोही विभीषणको जगजगी यो कलियुगमा नि उत्तिकै छ । बचनका पक्का दशरथहरू खोजेर कहाँ पाइन्छ र आजभोलि ! कुनै हालतमा नि नझुक्ने भनी गरेका अटल प्रणहरूलाई बकम्फुसे, खोक्रो राष्ट्रवाद भनिदिँदा यो भक्तको मन कति रोयो कति ! तैपनि यो भक्तले मनको वह कसैलाई पोखेन ।
चुनावका बेला दिनरात जाग्राम बसी हजुरकै स्तुतिगान गाउँदै विजयको माग राखी कुलदेवतालाई कालो बोको भाकल गरी त्यही बोको चुनावको अघिल्लो दिन काटेर प्रसादस्वरूप बाँडेर दक्षिणा टक्र्याउँदासम्म नि हजुरको पराजय होला कि भन्ने भयानक भयले यो भक्त कति दिन अनिँदो नै रह्यो । यसले त्यतिखेर भुलेछ कि न रावनसँग राम हारेका थिए न कंशसँग कृष्ण नै । यो बबुरालाई तपाईंको पराजय असम्भव हो भन्ने कुराको हेक्कै रहेनछ ।
हे प्राणदाता ! हे भाग्यविधाता !! सत्ययुगमा त दक्षप्रजापतिबाट महादेव निन्दित हुनुभएको थियो भने यस कलियुगमा हजुरको निन्दाले पराकाष्ठा नाघ्ने म देख्छु । उहिले सत्ययुगमा समुद्र मन्थन गरी निस्केको अमृत कपटपूर्ण तरिकाले देवताहरू आफूले मात्र सेवन गर्दा पनि देवताको जयजयकार नै भयो तर अहिले राज्य ढुकुटी मन्थन गर्दा निस्केको अमृत प्याला नि बाँडेन, आफूले मात्र घिच्यो भनेर रोइकराइ गर्नेहरू बढ्दै गएका छन् । सत्य युगमा ७० वर्षका शिवभट्टले नाबालिका गोमालाई बिहे गर्दा कोही करायो ? त्रेता युगमा सीता अपहरित हुँदा कतै आन्दोलान भयो ? द्वापर युगमा खुला सभामै द्रौपदीको वस्त्रहरण हुँदा कोही चुइँक्क बोल्यो ? बलात्कारका कुरा कहीँ कतै उठे ? तर, अहिलेका अज्ञानीहरू दुई–चार वटा बलात्कारका घटना हुँदैमा हजुरको शासनमाथि प्रश्न उठाउँछन् । उनीहरूलाई के थाहा हजुर, बलात्कार विधिको विधान हो, जुगौंदेखि चलिआएको परम्परा हो, हाम्रो पहिचान हो भनेर ।
हे प्रभु, प्रसाद भुइँमा फ्याँकेर देवीको अपमान गरी शाली नदीमा खसी नरक बास गरेका पापिनी चन्द्रावतीहरू आजभोलि लाज पचाएर आफ्ना अधिकार खोज्न थालेका छन् । उनीहरूलाई आफ्ना दिव्य वाणीले तह लगाउन जरुरी छ । महादेवलाई भूत, प्रेत, नन्दी, भृंगीको साथ चाहिएजस्तै हजुरलाई नि आफ्ना सेवकको आवश्यकता परी गणतन्त्र दिवसको शुभ मुहूर्तमा जञ्जिरबाट छुट्कारा दिलाउनुभो । सुन्दै छु— बर्दिया चुनावमा थलिएका अर्का सेवकलाई हिमालयको काखमा लगेर जडिबुटी खुवाई तंग्राउने सोचमा हुनुहुन्छ रे ! यदि यो साँचो हो भने यो भक्तले हजुरलाई भित्री हृदयदेखि नमन गर्दछ ।
देवताका वैद्य अश्विनीकुमार हुन् र उनी थाइल्यान्डमा बस्छन् भन्ने सामान्य ज्ञानसमेत नभएका नरपिचासहरूले हजुर थाइल्यान्ड गएर उपचार गरेकोमा गुनासो गर्छन् । हजुरकै सहयोगमा भगिरथले गंगालाई यस धर्तीमा ल्याएको कुरा थाहा नपाएझैं गरी स्वाङ पार्दै महिनामा १२ लाखको पानी खर्च गर्यो भनी बर्बराउँछन् । द्वापर युगमा कृष्णले दही चोर्दा बाललीला हुने, कलीयुगमा हजुरका सेवकले सोधभर्ना चोरे अपराध ? ठूला–ठूला शूरवीरहरूले टाल्न नसकेका काठमाडौंका खाल्डा हजुरले ५० दिनमै टाल्न उर्दी दिँदा हजुरको पराक्रम र अद्भूत शक्तिको खिल्ली उडाउनु भनेको अक्षम्य अपराध हो । यस्ता पापीहरूलाई अज्ञानी भनी क्षमादान नबक्सियोस् हजुर, नत्र पाप मौलाउँछ ।
हजुरबा भन्नुहुन्थ्यो— रावणले मकैको टुप्पामा धान, काण्डमा उखु, घोंगाको जुँगामा धागो र जरामा आलु फलाउने, सुनमा सुगन्ध थप्ने र स्वर्ग जाने भर्याङ बनाई प्रजालाई जिउँदै स्वर्ग देखाइदिने आश्वासन दिएको थियो रे ! तर, अकालमै मृत्युवरण गरेकाले पूरा गर्न सकेन । हजुरले पहाडका कान्लाकान्ला रेल कुदाउने, अश्विनीकुमारलाई यतै बोलाएर नेपाललाई मेडिकल हब बनाउने, भ्रष्टाचारीको ढाडै भाँच्दिने, बिचौलियाको विचल्ली पार्दिने, अपराधीलाई ठाउँको ठाउँ मार्दिने जस्ता भयानक सपना देखाउँदा पनि खास्सै गरिमा बढेन । हजुरको यो लीला सकिन धेरै समय बाँकी नभएकाले सप्तकोसीमा गाईको दूध बगाइदिने, वृक्षारोपण गरी सगरमाथाको टुप्पोमा आँपको खेती गरी अमेरिका पठाउने, सम्पूर्ण नेपालीको मूत्र संकलन गरी कृत्रिम ताल निर्माण गरेर पर्यटकलाई आकर्षित गर्ने, त्यसैबाट दशौं हजार मेगावाटको बिजुली उत्पादन गर्ने, त्यसपछि उक्त मूत्रलाई प्रशोधन गरी युरिया उत्पादन गरेर देशलाई मलको परनिर्भरताबाट मुक्त गर्ने, सोही मूत्र प्रशोधनबाट उत्पादित पानीलाई बेचेर मनग्य आम्दानी गर्ने जस्ता बहुआयामिक सपना देखाउन आवश्यक छ । तपाईंको यस लीलाको अन्त्यपछि इतिहास नामक धर्मग्रन्थले ‘समयाभावले सपना पूरा हुन सकेनन्’ भनेर व्याख्या गर्ने नै छ । सदियौंसम्म हजुरको पराक्रमको गुणगान गाइनेछ ।
हे प्रभु ! हजुरको अद्वितीय क्षमता र शक्तिको नजरअन्दाज गरी हजुरलाई गरेको व्यंग्य, खिसिट्युरी देखेर यो भक्तको मन तरक्कै रुन्छ । त्यसैले हजुरको महिमा प्रचारप्रसारका लागि ठूला–ठूला यज्ञ, महापुराण आयोजन गरियोस्, सप्ताह लगाइयोस् । चौधै भुवनका मालिक सम्झेर हरेक पुण्य कार्यमा हजुरकै पूजा गरियोस् । पाठ्यक्रममा हजुरको अपार लीलालाई समावेश गरियोस् । हजुरको महिमाका मन्त्र उच्चारण गर्नेलाई ठूला–ठूला पदमा पुर्याइयोस् । हजुरका विरुद्धमा सल्बलाउने दानवको नाश गरी अनन्तकालसम्म पटक–पटक यस देवभूमिमा राज गरिबक्सियोस् । यो भक्तको यही नै अन्तिम इच्छा हो ।
[ Published on Baahrakhari https://baahrakhari.com/news-details/64214/2018-09-15#.W5yP7H6EXLs.twitter ]
No comments:
Post a Comment