Wednesday, March 25, 2020

कोरोना भाइरसः अफवाह र त्रासको भुलभुलैया

संसार भरी फैलिदै गएको कोभिड–१९ ले नेपालमा पनि भयावह स्थिति सृजना नगरोस भनेर भर्खरै नेपाल सरकारले अत्याव श्य बाहेकका अन्य कुरा बन्द गर्ने निर्णय गरेको छ । स्कुल, कलेज, विश्वविद्यालय, सिनेमा हल लगायतका कुरालाई बन्द गरी कोरोना भाइरसको संक्रमणको गतिलाई कम गर्न सरकारले चालेको कदम प्रशंसनीय नै छ । तर, यसै बिच सामाजिक संजालमा फैलिएका अफवाहले नेपाली समाजमा त्रासको स्थिति सृृजना गरिदिएको छ । र, त्यो त्रासको एउटा मात्र कारण भनेको हामीलाई कोरोना भाइरसको बारेमा प्रयाप्त ज्ञान नहुनु नै हो । त्यसैले जसले जे सुकै भने पनि हामी पत्याइदिन तयार छौँ । हाम्रो यहीं कारणले अफवाह फैलिनलाई झन् मलजल पुर्याएको छ ।
१) हाम्रा भ्रम
नेपाली समाज अहिले अनेकन भ्रमका बिच संघर्षरत छ । केही हप्ता अगाडि ‘कोरोनाबाट कसरी बच्ने भन्ने’ एउटा वडा स्तरीय भेलामा एकजना बुद्धिजीवीले आफू सिमेन्ट फ्याक्ट्रीको नजिकै बस्ने र त्यहाँ अत्यन्त प्रदुषण हुने भएकाले कोरोना आउन नसक्ने ठोकुवा गर्नु भएको थियो । यस्तै ठोकुवा प्रदुषणपुरी कान्तिपुरी नगरीका अधिकांश स्थायी तथा अस्थायी बासिन्दाहरुले गर्नु भएको समाजिक संजालमा देख्न र छिमेकमा सुन्न पाइन्छ । उहाँहरुलाई एउटा जानकारी गराउन चाहन्छु कि भाइरसको कुनै नाक, मुख, फोक्सो हँुदैन । यो बस व मोटरसाइकलमा बसेर हावा खाँदै एक ठाउँबाट अर्को ठाउँमा जाने पनि होइन । त्यसैले यसलाई काठमाडाैँ वा सिमेन्ट फ्याक्ट्रीको वरिपरिको प्रदुषणले कुनै असर गर्दैन । यो तपाईंको शरीरको मुख्य गरी श्वासप्रश्वास प्रणालीका अंगहरुको कोषभित्र बस्दछ । त्यसैले रक्सी पिउँदैमा भाइरस मर्ने र पानी पिउँदैमा पखालिएर पेटमा पुग्ने हुँदैन ।
अर्को भनेको कोरोना लागे मरिहालिन्छ भन्ने भ्रम हो । केही वयस्क व्यक्तिहरुमा देखिए पनि यो भ्रम प्रायः गरेर विद्यालय जाने केटाकेटीमा बढी देखिन्छ । जसले उनीहरुमा मानसिक तनावको स्थिति सृजना गरेको छ । रोगका बारेमा साना नानीहरुमा सजिलै अफवाह फैलिनु, उनीहरुको भ्रमको निवारण गर्न अभिभावकले कदम नचाल्नु र विद्यालय बन्द हुँदा पनि रोग लाग्ने डरले घरमै बस्नुपर्ने स्थितिले साना नानीहरुमा त्रास झन बढ्ने देखिन्छ । यस्तो बेला उनीहरुको मानसिक स्वास्थ्यलाई थप बिग्रन नदिन अभिभावकहरुले जिम्मेवारपूर्ण भूमिका निर्वाह गरेर आफ्ना नानीबाबुहरुमा भएको भ्रम हटाएर सही ज्ञान तथा सूचना दिन सक्नुपर्दछ ।
तेस्रो हल्ला गर्नेहरु कोरोना लागेको शंकाले कुनै अस्पतालले भर्ना गर्न मानेन भन्नेहरु हुन् । मुख्य कुरा त यो भाइरस अत्यन्त चाँडैं फैलिने हुनाले सरकारले तोकेका बाहेक अस्पतालमा लैजादा झन फैलिने डर हुन्छ । त्यस्ता अस्पतालमा अन्य रोगसँग लडिराखेका बिरामीहरु पनि हुन्छन । त्यस्ता बिरामीहरुमा कोरोनाको थप संक्रमणसँग लड्ने क्षमता नहुन पनि सक्छ र कोरोनाकै संक्रमणले ज्यान गुमाउन सक्छन । के हामीमा आफ्नालाई बचाउने हतारमा अर्काको जिन्दगी धरापमा पारिदिने अधिकार छ ? यसरी कोरोना लागेका बिरामीलाई मन लागेको अस्पतालमा डुलाउँदै हिँड्दा संक्रमण हाम्रो काबुबाट बाहिर निस्कन्छ । त्यसैले कोरोनाको शंका भएमा सरकारले तोकेकौ अस्पतालमा लैजानु पर्छ ।
अर्को भ्रम कोरोना भाइरस लागेर धेरै नै मानिस मरिराखेका छन तर नेपाल सरकारले घटना लुकाई राखेको छ भन्ने । यहीं भ्रमले गर्दा पशुपतिको आर्यघाटमा जल्दै गरेको शवलाई पनि कोरोना लागेर मरेको ठोकुवा गर्नेहरु हाम्रै वरपर छन । हरेक दिन जलाइने लाश गनेर भित्तामा धर्का कोरेर बसे झंै गर्नेहरु पशुपतिमा जल्ने लाशको संख्या ह्वात्तै बढेको ठोकुवा गर्दै अफवाहलाई मलजल गर्न व्यस्त छन । कोरोनाको संक्रमण कसैले लुकाएर लुक्ने कुरा होइन र यो कुरा लुकाएर सरकारलाई के फाइदा ? लुकाएर फाइदा हुने भए चीनले लुकाउँदैन थियो होला ?
टाउको दुख्नु, ज्वरो आउनु, नाकबाट पानी बग्नु कोरोना भाइरसका मुख्य लक्षण हुन् । तर, यी लक्षण कोरोनाका मात्र होइनन् । मौसमी रुघाखोकीमा पनि यिनै लक्षणहरु देखिन्छन । कोरोना लाग्दैमा सबै जना सिकिस्त हुन्छन् भन्ने हँुदैन । अधिकांशलाई केही दिन ज्वरो आउने, टाउको दुख्ने र सुख्खा खोकी लागी आफै निको भएर जान्छ । त्यसैले कोरोना लाग्दैमा आत्तिएर अस्पताल दौडिहाल्नु पर्दैन । घरमै छुट्टै बसी आराम गर्दा पनि अधिकांश मानिसलाई निको हुन्छ । अर्को कुरा कोरोनाको संक्रमण एकै पटकमा धेरै जनालाई हुने हुँदा सामान्य लक्षण भएका व्यक्तिहरु पनि अस्पतालमा भर्ना हुन मरिहत्ते गर्दा साँच्चिकै उपचार चाहिनेहरुले उपचार नपाउने अवस्था पनि आउन सक्छ ।
२) देशको संकटमा हाम्रो औकात
देशमा कोरोनाको संक्रमण देखा नपर्दै यसलाई फैलिनबाट रोक्न सरकारले अत्यावश्यक बाहेकका कुरा बन्द गर्दै गर्दा काठमाडाैँ छाडेर बाहिर जानेको घुइँचो बढेको छ । यसले काठमाडौको जनघनत्व घटाउनुको साथै रोग फैलनबाट रोक्न पनि सहयोग पुर्याउँछ । केही गरी रोग फैलिएमा पनि जनसंख्या घटेकाले बाँकी रहेका मानिसलाई स्वास्थ्य सेवा लगायतका अन्य आवश्यकता पूर्ति गर्न सरकारलाई तुलनात्मक रुपमा सजिलो हुन्छ ।
संकट कहिले आउला र उपभोक्ताको ढाड सेकाउँला भनेर र्याल काढेर बसेकाहरुको कुरुप आकृति अहिले देख्न पाइन्छ । देशको संकटलाई पनि आम्दानीको मौकाका रुपमा लिनाले अहिले नेपाली जनता कोरोना भन्दा पनि कालोबजारीको मारले आक्रान्त छन । दैनिक उपभोग्य वस्तुले आकाश छोएको छ र कालोबजारीलाई जसरी भए पनि रोक्ने हौवा पिटिराखेको सरकार यस कार्यलाई पूर्ण रुपमा सफल पारेको छैन । यदि भोलिका दिनहरुमा सहर पुरै क्वारेन्टाइनमा बस्यो भने दिनगन्ती ज्यालादारीले मुखमा माड लाउनेहरु बढी प्रभावित हुने देखिन्छन । उनीहरु कोरोनालाई फैलिनबाट रोक्न क्वारेन्टाइनमा मात्र होइन भोकै पनि बस्नपर्ने हुनसक्छ ।
संकटको घडीमा सरकारको आदेश पालना गरेर सरकारलाई सहयोग गर्नु सबैको कर्तव्य हो तर अर्को सूचना लागू नहौन्जेल सबै शैक्षिक संस्था बन्द गर्ने र नयाँ भर्ना पनि नलिने सरकारको आदेशलाई बेवास्ता गर्दै काठमाडांैका केही नाम चलेका विद्यालयले धमाधम भर्ना खोलेको समाचार आइराखेका छन । विपतमा कसरी अघि बढ्नु पर्छ भन्ने सामान्य ज्ञान नभएकाहरुले विद्यार्थीलाई के सिकाउलान ? यो प्रश्न अब सबै अभिभावकले आफैलाई सोध्नुपर्छ । सुँगा रटाई र अंग्रेजी लवज मात्र ज्ञान होइन । र ती अटेरी विद्यालयले अप्रत्यक्ष रुपमा तपाईंका छोराछोरीलाई संकटको घडीमा सरकारको आग्रहलाई कसरी उपहास गर्न सकिन्छ भनेर सिकाइ राखेका छन । के तपार्इंले खर्च गरेको पैसा यहीं अनुशासन बिहीन व्यवहार किन्नका लागि हो ? ज्ञान भन्दा अनुशासन र व्यवहार धेरै महत्वपूर्ण हुन्छ ।
नेपालका अर्का अजीव वर्ग भनेका राजनैतिक दल हुन जुन जहिले पनि सरकारका आदेश र सामान्य अनुशासन भन्दा माथि नै हुन्छन । सरकारले २५ जना भन्दा बढी भेला नहुन आदेश दिंदै गर्दा कतिपय राजनैतिक पार्टीले आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिने, भेटघाट गर्ने, नयाँ कार्यकर्ता थप्ने कामलाई जारी राखेका छन् ।
अर्को कुरो धेरै भीडभाड गर्दा झन चाँडै फैलने रोगको जनचेतना जगाउन दोहोरीको आयोजना गरेको, जुलुस निकालेको र महायज्ञ लगाएको सुन्दा यो स्तम्भकार सोंचमग्न हुन्छ कि आफूले आफै माथि गर्ने यो भन्दा भयंकर मजाक अरु के हुन सक्छ ?
संकटग्रस्त समय अफवाह फैलिनका लागि सबैभन्दा उपयुक्त समय हो । यस्तै अफवाह केही बर्षअघि भूकम्प जाँदा नि फैलिएका थिए । यस्ता अफवाहबाट बच्न सरकारी संस्थाले तथा विश्वसनीय संस्थाले उपलब्ध गराएको सूचना मात्र प्रयोग गर्नु पर्दछ । अफवाह पनि एक प्रकारको भाइरस भएकाले यसलाई फैलिनबाट सकेसम्म रोक्नु पर्दछ । अहिलेसम्म कोरोनाको उपचारमा केही औषधिहरु परीक्षण गरिएका छन र तिनका प्रारम्भिक नतिजा आशलाग्दा छन । केही देशका औषधि कम्पनीहरु यसको भ्याक्सिन बनाउन पनि जुटेका छन । तर हाललाई कोरोनासँग लड्न तपाईंसँंग भएको चिज भनेको तपार्इंको रोग प्रतिरक्षात्मक क्षमता हो । सकेसम्म रोग लाग्न र फैलिन नदिनुस् । कोरोना लागि हालेर घरमै छुट्टै बसेर आराम गर्नुस । रोगले बढी च्यापेमा सरकारले तोकेको ठाउँमा मात्र उपचार गर्न जानुस् ।
हामी वीर हौँ
हामी बहादुर पनि हौँ
अब अनुशासित बन्ने पालो ।

[ published on Salleri Khabar:- https://www.sallerikhabar.com/archives/98986 ]

No comments:

Post a Comment

Miseries of women suffering from mental illnesses

  “Why do you make these regular visits? Is it because you like me? Do you really want to have an intimate relationship with me? Please lock...

Don't miss...