पखाला लागेर सात दिन थलिएकी आमालाई एक्लै बोकेर चार घण्टाको बाटोमा उकाली ओराली गर्दै ऊ मेरा सामु आइपुगी। प्राथमिक उपचार सकाएर बिरामिलाई केहि खुवाउदा हुन्छ अब भनेपछी नजिकैको होटेलमा गएर उसले फ्रुटी ल्याएर आई।
कसरी खुवाउने थाहा रहेनछ, ओल्टाइ पल्टाइ गरेर खोल्ने ठाउँ खोजिरही।
मैले straw प्वाल मा छिराउन सिकाए पछि थलिएकी आमालाई उठाउदै भनी " लौ आमा कोक खाउ, परान आउँछ।"
*****
"मेरो बिरामी छिटो हेर्दिनुस के!"
तेस्रो पटक उसले पुरै च्याँठिएर आग्रह गरि ।
उसको छोरो भन्दा अगाडि अझै तिन जना बिरामी थिए, जस मध्य एउटालाई म जाँच्दै थिएँ । पहिला नै दुई पटक सम्झाइ सकेको हुनाले मैले फेरी सम्झाउने जमर्को गरेन। बरु मेरो सट्टा पालो कुरिराखेका एक बृद्धले जवाफ फर्काए " डाग्डरले एक छिन पालो कुर्नुस भन्या सुन्या छैनिउ गाँडी , तिमिलाई मात्र ढिला हुन्छ? हामि के फुर्सद भएर गफ गर्न बस्या हम र?"
बुडाको कुरो सुनेपछी उस्ले ३ बर्षको आफ्नो छोरोलाई भुइँबाट तप्प टिपेर कन्नामा फालि र फतफताउदै बाहिर निस्की "कस्तो नेपर्या डाग्डर रैच ए! ह्वा धामी बा आज दिउसो ११ बजेको बसमा सदरमुकाम जाने रे , सदरमुकाम झरिहाले मेरो छोरालाई कस्ले झारफुक गर्देला भनेर पो चाँडो गर्दिन भनेकि।"
*****
ऊ त्यस दिनकि अन्तिम बिरामी थिई। टाउकाको मझेत्रोलाई हल्का कसेर खुइय गर्दै नजिकैको कुर्सीमा बसि। लट्टा पारेको उस्को कपाल गर्धनबाट अगाडी झरेर स्तन माथी फिँजारिएको थियो ।
" के भएर आउनु भएको?" मैले अरुलाई जस्तै उसलाई नि प्रश्न तेर्साएर उत्तरको प्रतिक्षामा एक मन्द मुस्कान दिएँ ।
" मेरो असाध्य टाउका दुख्छ।" उसले जवाफ सङै आफ्नो कुर्सी मेरो नजिक तानी। उसले फेरेको बाफिलो स्वास मेरो नाङ्गो पाखुरामा ठोकिइरहेको थियो।
" धेरै चिन्ता लिनुहुन्छ की क्या हो?" मैले कुरालाइ अघि बढाउदै सोधेँ ।
" चिन्ताका त के कुरा गर्नु र! जिन्दगी नै चिन्तै चिन्ताले खाइदी सक्यो। सुख होला भनेर दुई पटक पोइला गइसके।
पहिलाको ले जाँड धोकेर आएर तँ किन हिन्दी फ्लिमकी हिरोइन जस्ती राम्री छैनेस भन्दै भकुर्थ्यो। दिन दिनै कुट्न थालेपछी जातिबिती भएर अहिलेको पोइ सङ आइयो, तैपनी सुख पाइएन। म त अब अन्तै पोइला जाने प्लानमा छु।" एकै स्वासमा उसले बेलिबिस्तार लगाई।
" अहिलेको मा के भयो र?" मैले कुरा खोतल्ने मनसायले उसलाई सोधेँ ।
" अहिलेकी सासु सार्है बेमान छे। छोरालाई कामै गर्दिन भनेर कुरा लगाइदिन्छे, अनि छोराले लौरै लौराले बजाउँछ।" उसले दुखेसो पोखी।
" त्यसो भए काम गरेर सासुलाई फकाउनुस। सासुलाई फकाए पछि छोरो पनि खुसी। पोइला गएर मात्र सुख पाँइदैन। यहि परिवार राम्रो छ नि तपाइँको।" मैले उसलाई केहि सम्झाउन खोजेँ।
" मैले काम नगर्या होर? कम्ता काम गर्नी गर्या छु। तैपनी यो पोइ भनाउदोले पिटेको पिटै गर्छ" उस्ले हरेस खाँदै भनी।
" जानुस यो पटक राम्ररी खुसी पार्ने गरि काम गर्नुस् । यदि त्यती गर्दा नि कुटेछ भने पोइलाई यहीँ ल्याएर आउनु होला, म सम्झाइ दिउँला।"
" तपाईंले सम्झाउँदा पनि मानेन भने?" उस्ले पोइले सम्झाउँदा पनि नमान्ने हो कि भनेर शंका ब्यक्त गरि।
" होइन मैले सम्झाए पछि मानी हाल्छ नि। मैले उसलाई मान्ने गराइहाल्छु। तपाई ढुक्क हुनुस।" मैले उस्को शंका मेट्ने प्रयास गरेँ।
ऊ केहि गम्भीर देखिइ, केहि बेर टोलाइ र भनी " यदि उस्ले मानेन भने तपाईले मलाइ भगाउनु हुन्छ त?"
*****
" मेरो प्रेसर जाँच्दिनुस तै।"
उ हस्याङ फस्याङ गर्दै बहिरंग कोठामा आइ।
आँखाका छेउमा परेका चाउरी हेर्दा लाग्थ्यो उस्ले केही बर्ष पहिले नै चालीस कटि सकेकी थिइ। मझेत्रोले निधारको पसिना पुछ्दै मेरो नजिकको कुर्सीमा बस्दै गर्दा मैले प्रश्न तेर्स्याए " प्रेसरको औषधि खानी गर्नु भा'छ र।"
उसले टाउको हल्लाउदै नखाएको जनकारी गराइ र भर्खर आफ्ना छिमेकि प्रेसरले हानेर लुला भएको र प्रेसर नजाँचे प्रेसरले हान्न सक्ने रहिछ भन्ने कुरा मलाई सुनाइ। यति मात्र नभई प्रेसरले हानिहाल्ला कि भनेर आफू घाँस काट्न निस्क्या बेला प्रेसर जँचाउन आएको बताई।
" पहिला कति थियो थाहा छ?" प्रेसर नाप्दै गर्दा मैले उसलाई सोधे।
" कहिली नाप्या भएपो थाहा हुन्छ।" आफ्ना निला गिजा देखिने गरि हाँस्दै भनी " चाँडै गर्दिनुस है मलाई बभन्ने भा'छ।"
प्रेसर नपिसके पछि उसको प्रेसर बढि भएको जानकारी दिदै मैले भने " के गर्नु हुन्छ त?" मेरो प्रस्न को आशय थियो औषधि खानु हुन्छ कि केहि दिन खाना बारेर हेर्नू हुन्छ भन्ने। उ जुरुक्क कुर्सिबाट उठेर ढोका खोल्दै भनी " अहिले नापिहाले क्यारे, गोरु भोकाएर घाँस काट्न आइकी हुम। एक पटक नापे त हप्ता दस दिन नहान्ला नि प्रेसर ले! अब गोडा दस्यक दिन पछि फेरि नाप्न आउला।"
*****
हेर्दा लाग्थ्यो ऊ बिरामी नभए पनि बिरामी जस्तो देखिने हर्दम प्रयास गरिराखेकी थिई। नजिकका अरु बिरामिलाई आफ्नो तागत सक्केको र जिउ फतक्कै गल्ने गरेको कुरा सुनाउदै गर्दा बेला बेलामा खुइय गर्दै सास फाल्थी। अरुले नि यस्तो बेला बाइलो बार्न पर्ने भन्दै अमिलो मुहि, कलिलो काक्रो, आलुको बोक्रा, सुकेको खुर्सानी, साँदेको भोगटे, दुधे मकै आदि इत्यादि खानै नहुने भन्दै आफ्नो स्वघोषित ज्ञान बाडिराखेका थिए। कस्ले धेरै जानेको भन्ने त्यहाँ एक किसिमको प्रतिस्पर्धा नै चल्दै थियो।
" के भएर आउनु भको हो?" उस्को पालो आएपछी मैले आउनुको कारण जान्ने इच्छा जाहेर गरेँ।
" म त सलानी चढाउन आइकी हुम" उसके आफ्नो कुरा खोली।
" अनि सलानी नि चढाउछु भन्दैमा चढाउन पाइन्छ त?" उस्को चरम इच्छा माथि म धावा बोलेँ।
" यहाँ आफ्नो तागत सक्केर कस्तो जिउ गलिरा छ।" उ केही चर्केर बोली।
"के भएर सक्यो नि त तागत?" मैले शान्त पार्ने प्रयास गरेँ।
" सलानी नचढाएर ए।"
ऊ आइ , के भएको आफै भनी, किन भएको त्यो पनि आफै भनी र के गर्नु पर्ने हो त्यो पनि मलाई सिकाउन खोज्दै थिइ। न ज्वरो आको, न पखला लाको, न बान्ता भको, न प्रेसर घटेको, तैपनी ऊ सलानी नलाइ नछोड्ने पक्षमा थिइ।
" मुखबाट खान सकिन्छ भने सलानी लगाउन पर्दैन। बरु कमजोर महसुस भइराछ भने जिबनजल लगेर खानुस।" मैले सम्झाउने प्रयास गर्दै भनेँ ।
" पहिलेको डाक्टरले त ६/६ महिनामा चढाउन पर्छ नत्र तागत सकिन्छ भन्याथे। यो पटक त चुनाबले गर्दा ९ महिना भो चढाउन नपाको। तागत सक्केर हिड्न नि नसक्ने भया छु । कि बोकेर घर पुर्याइदिनुस कि सलानी चढाइदिनुस।"
म धर्मसंकटमा परे। बोकेर घर पुर्याइदिन सक्दैनथिँए। बाटोमा हिड्दा ठेस लागेर, भिरबाट खसेर वा गोरुले हानेर केही भइहाल्यो भने भोलि पत्रीकामा फलानो डाक्टरको लापरबाहिले बिरामिको मृत्यु भन्ने समाचार छपिए बिना कारण आफ्नो नैतिक पतन हुन्थ्यो। त्यसैले हार मानेर मैले सलानी चढाइदिने निधो गरे।
सलानी लागाइदिदै गर्दा उसले सन्तुष्टिका रेखा ओठभरी फिजाउदै भनी, " जिउ सर्है गल्या छ, यो पटक दुइटा चढाइदिनुस न है। एक बर्ष ढुक्क पनि हुन्छ।"
[ Published on Swasthya Khabar http://swasthyakhabar.com/story/25209 ]
[ Published on Swasthya Khabar http://swasthyakhabar.com/story/25209 ]
No comments:
Post a Comment