Saturday, June 9, 2018

कमरेड छोरो ( Story)



जब थला परेको उन्नाईस दिन पछि कोठाबाट झिकेर तुलसी मठ  नजिकै सुताइयो, उसले नैतिक दबाबमा आफ्नो बाँच्ने इच्छा मरेको घोषणा गर्यो, त्यो पनि आफुले आफै सङ। अब बाँच्नु भनेको पाप हो।  मर्नै लाग्दा अब केहि दिन बाँचेर अलच्छिना हुन उसको मनले मानेन। मानोस पनि कसरी?  बुहारी ना-नातिनाले डाँको छोडिसकेका थिए। पार्टीको क्षेत्रीय भेलाबाट आज बिहानै फर्केको  छोरोलाई अलि पर आफन्तिले खासखुस गरेर केही सम्झाउदै थिए। घामले क्षितिजलाई छुने हतारमा छिटोछिटो पाइला चालिराखेको थियो। " विधि पुर्याउन पनि त समय लाग्ला! बाँस चाहियो, बाध्ने डोरि बाट्नु पर्ला! खोलो नि परै छ! अब नि सास नछोडे मलामिलाई फर्कदा ढिला हुन्छ।" उसले मनमनै आफैलाई भन्यो।  ऊ किक्लिक्क किक्लिक्क गर्न थाले पछि डाँकोको आवाज ह्वात्तै बढेर गयो। जम्मा भएका आफन्तिले पालै पालो मुखमा पानी चुहाइदिन थाले। पानी सर्किए पछि बुडाको प्राण ज्यान छोडी बायुमण्डलमा तैरियो। उसले त्यहीबाट आफ्नो अन्तिम संस्कार चियाउन थाल्यो।

केही घना हरिया बाँस ल्याइए। " कति महङ्गो हो! घना कै डेढसय रे!" कसैले छोरोलाई सुनाए पछि उसले आफ्नो निधारमा तीन चारवटा समानान्तर रेसा बनायो। " घनाको डेढसय!" छोराले मन मनै दोहोर्याउदा उसका ओठहरु चलेको देख्दा बायुमण्डलमा तैरिराखेको बाउ खिन्न भो। करिब पच्चिस बर्ष पहिले छोराको प्रचण्ड इच्छा पछि एउटा दुइबित्ताको मुरली सय रुप्पेमा किनिदिँदा नि उसलाई महङो लागेको थिएन।

" दाइले मरे पछि देवघाटमा अन्तिम संस्कार होस भन्ने इच्छा राख्नु भको थियो बाबू, कति नै टाढा हो र! त्यही सय सवासय किलोमिटर त होला। अन्तिम इच्छा पुरा  गर्दिने कि।" काकाको कुरा सुनेर छोरोको  कन्चट तातेर आयो। साहेद बाउले जिन्दगीभर आफ्नोलागी गरेको कामको एक प्रतिसत मात्र नि सम्झन सकेको भए देवघाट पुर्याउनु सामान्य कुरा हुन्थ्यो। तर आधुनिक साम्यबादी पार्टीको कृयाशिल सदस्य भएको र आफ्नो पार्टिको अथक प्रयासले मात्र शासकीय ब्यबस्थामा परिबर्तन आएको अन्धविश्वासमा चुर्लुम्म डुबेको छोराले काजकिरिया गर्नु पनि आफ्नो पार्टीको नीति बिपरित हुने भनि  आफ्नो पार्टीको सिद्धान्त विरुद्ध आफू नजाने भन्दै कड्कियो। उसको गर्जनले उपस्थित सबै स्तब्ध भए। कथित कम्युनिस्टका ढोंगी सिद्धान्तका सामु समाजको सनातन धर्म संस्कृति निरीह बन्दै थियो। बुढापाकाहरु कलियुग छिप्पिदै गएकोमा सुस्केरा फाले, अनि जवानहरु आधुनिकता भित्रिएको हो कि भनी अक्क न बक्क परे।

बाउ जीउँदै हुन्थ्यो त ऊ आफ्नै आँसुमा चुर्लुम्म डुब्थ्यो होला। तर आत्माका आँसु आएनन। न त ऊ डाँको छोडेर रुन सक्यो। आफ्नो अन्तिम संस्कार विधि संवध भए स्वर्ग जान पाइने बिश्वासले तीन छोरी मुनि जन्माएको छोरोले आज आफ्नै आशलाई थप्पड हिर्काएको थियो। त्यहि छोरो जन्माउँदा प्रसब पिडाले परलोक भएकी आफ्नी पत्नीलाई सम्झ्यो उस्ले। श्रीमतिको त राम्रै सङ अन्तिम संस्कार गरेको थियो, स्वर्ग बाँस नै पाउने गरि। मरे पछि श्रीमतीसङ सङ्गै  बस्ने उसको इच्छामाथी कुठाराघात हुन लागेको थियो। अन्तिम संस्कार नि पूरा नभए खै कसरी स्वर्गबास होला। सम्झेरै उसले उदेकको सास फेर्यो।

हरियो बाँसमा बाँधेर सेतो कात्रो ओडाए पछि उसलाई आर्य घाट लैजान उठाइयो। क्षेत्रीय भेलामा थाकेको हुनाले बोक्न नसक्ने भन्दै छोराले लास बोक्न इन्कार गर्यो। शङ्ख फुक्दै बुढाहरु अघि लागे भने टिला टिप्न पाउने आसमा भुराभुरीहरु लासको पछि पछि दौडिए।
स्वर्ग जान पाइने बुढाको आस बिस्तारै मर्दै गयो। "साहेद कम्युनिस्टहरुको कुनै स्वर्ग हुदैन।  उनिहरुका कुनै ईश्वर हुदैनन, न त घर्म नै हुन्छ। त्यसैले जिउदो छदा गरेको पापको सजाय मरे पछि उनिहरुले भोग्नु पर्दैन। उनिहरु खोक्रो सिद्धान्तमा चल्छन जुन सिद्धान्त उनिहरुको इच्छा अनुसार परिबर्तन हुन्छ। साहेद सनातन धर्म उनिहरुको चाहाना अनुरुप परिबर्तन हुदैन, तेसैले समाजको अधोगती हुनुमा सम्पुर्ण दोष उनिहरु धर्मलाई दिन्छन, उपहास गर्छन, आस्थालाई पोलेर खान खोज्छन। रिति रिवाजको धज्जिँया उडाउछन। न ब्रतबन्ध गर्छन, न दशै मनाउँछन, न त काजकिरिया नै गर्छन। दसैमा लगाएका जमरा टीका, रक्षाबन्धनमा लगाएका जनै, देवालिमा बाधिएका धजा र तिजमा गरिएको शृङ्गार उनिहरुलाई नेपाली गरिब हुनुको मुल कारण लाग्दछ। समृद्धिको सपना देखाउदै गरिएको गृहयुद्धले सयौ बिधवा, हजारौं टुहुरा र लाखौं अपाङ्ग मात्र उत्पादन गरेन नेपालीलाई धर्म रितिरिवाज र सांस्कृतिक रुपमा कंगाल  बनाउन खोज्यो। सनातन धर्म नै मासिए कसरी बाँच्छ नेपाली मन?" चितामा चढाउदै गर्दा बुढाले मन मनै आफैलाई प्रस्न गर्यो।

चितामा जल्दै गर्दा उसलाई चिताको ज्वालाले भन्दा आफ्नो बिउबाट धुन्दुकारी जन्मिएको पश्चातापले बढी पोल्यो। उसलाई  आफुले गरेको सबै भन्दा ठुलो पाप यहि हो जस्तो लाग्यो। जुन अक्षम्य छ। लास जल्दै जाँदा बिस्तारै उस्को आत्मा आकासतिर उड्न थाल्यो। उसले एक नजर घर्ती तिर लगायो। त्यहाँ सबै थिए, मात्र छोरो थिएन। साहेद सम्पत्ति खानलाई लाज नहोस भनेर दाग बत्ती मात्र दिन आएको थियो।  यस्ता सङ तेह्रदिने काजकिरियाको आश गर्नु मुर्खता बाहेक अरु केही हुदैन थियो।ऊसले यमराजलाई साम्झियो, सजाए दिनका लागि बनाइएका तेल तताउने  कराइ सम्झियो,सम्झियो पापिहरुलाई काट्न धार लगाएर राखिएका हतियार।  नर्कमा अनेक सजाय भोग्नु पर्ने डरले उसको होस हवास उड्यो, ऊ करिब करिब बेहोस भयो। 

एक्कासी बिउँझिदा ऊ आफ्नी श्रीमतीको काखमा सुतिराखेको थियो। मिठो मुस्कान सङै श्रीमतीले उसलाई स्वर्गमा स्वागत गरि। छोरीहरुले अन्तिम संस्कार पुरागरिदिएको कुरा सुने पछि उसका आँखा एक्कासी रसाएर आए। उसले बलिन्धारा रुदै भन्यो " मैले छोरोलाई मान्छे बनाउन सकेन।"
" हाम्रो छोरो भिरबाट खस्न लागेको गोरु हो, राम राम भन्न बाहेक केही गर्न सकिन्न।" श्रीमतीले सम्झाउने प्रयास स्वरुप भनी।
" अनि हाम्रो सनातन धर्म के होला?" 
" हाम्रो धर्म संस्कृति घना जङ्गल हो। एउटा गोरु भिरबाट खस्दा दुईचार रुख भाचिने मात्र हुन। ती फेरि पलाउँछन। चिन्ता नगर्नुस, जति गोरु भिरबाट खसे पनि एउटा घना जङ्गल कदापि नष्ट हुदैन।" श्रीमतिको उत्तरले बुढाको मन हलुका भयो र भन्यो " स्वर्ग कस्तो रहेछ, हेर्ने इच्छा छ। यस्सो घुमाइदेउ  त।"

[ Published on Salleri Khabar: - https://www.sallerikhabar.com/archives/92347 ]

No comments:

Post a Comment

Miseries of women suffering from mental illnesses

  “Why do you make these regular visits? Is it because you like me? Do you really want to have an intimate relationship with me? Please lock...

Don't miss...