Monday, August 20, 2018

यमराजलार्इ चिठी (Comady)



आदरणीय  यमराजज्यू,
कालदेव नगरी, यमलोक

यथेष्ट सम्बोधन नपुगेको खण्डमा रिसानी  माफ होस्। उहिले गुरुले सिकाएको 'म यहाँ सन्चै छु त्यहाँ हजुरलाई नि सन्चै होला...' भन्ने चिट्ठीको सुरुवाती अंश समय सान्दर्भिक नभएकाले मैले यहाँ उल्लेख गर्न सकिनँ, तैपनि यो निर्धो मनले हजुरको सकुशलताको सदा कामना गर्दछ।
'चिकित्सकलाई देखाइदिने' मनसाय बोकेको सरकारले हालै ल्याएको मुलुकी ऐनमा चिकित्सक सम्बन्धी हेपाहा कानुनहरु आएको कुरा हजुरलाई अवगत नै होला। पाताल लोकमा हाम्रा लागि गरिखाने स्थिती चौपट हुँदै गएकाले उदास मनले म यो चिठी कोर्दैछु।
जिन्दगिमा तपार्इंसँग परेका बाझाबाझ मेरा मानसपटलमा ताजै छन्। तपार्इंले ज्यान नलगी नछाड्ने र हामीले कुनै हालतमा लैजान नदिने भनी गरेका अटल अड्डिहरुमा  हामीले जितेका कुराको स्मरण गर्दा पनि मन बहुत आनन्दित भएर आउँछ। 'ल त तेरै जित भो' भन्दै अस्ति भर्खर कलेजो खराब भएर भर्ना भएको रामेको बालाई तङ्ग्राएर घर पठाउँदा  उसकी स्वास्नीले बरबर्ति खुसीका आँसुका धारा खसाल्दा मलाई हजुरको त्यो सहयोगको झल्झली याद आएको थियो। घाँस काट्दा भिरबाट खसेकी कल्कलाउँदी  उमेरकी  बोमीलाई पनि यति चाँडै नटिप्नुस् भन्दै बिसाएको बिन्ती नि हजुरले सुन्नु नै भएको हो। 'म विवस छु' भन्दै निमोनियाले गलेका टोपबहादुरका बालाई मलिनो मुख लगाएर लिएर जाँदा मलाई एक हप्तासम्म राम्ररी निद्रा पनि लागेन।
तपाईंका र हाम्रा आ–आफ्नै विवसता छन्, पार गर्न नमिल्ने परिधी छन्। सर्वमान्य प्रकृतिका नियमलाई तपाईं र हामी मिलेर थोर बहुत बङ्ग्याउन सकिएला तर परिवर्तन गर्न हामी दुबै असक्षम छौँ । त्यो  हामी दुबैले राम्ररी बुझेका छौं र हाम्रो समाजले नि यो थोरै धेरै बुझेको थियो।
तर आज समय बदलिएको छ। कसैले अरुलाई जानाजान मारे, बलात्कार गरे वा अपहरण गरेर बेपत्ता पारे  बरु सामान्य घटना  मान्न तयार हाम्रो सरकारले बहुत गहिरो अध्ययन र तह–तहका गहकिला छलफल पछि ल्याएको नयाँ मुलुकी ऐनले उपचार गर्दागर्दै  कसैको ज्यान गएमा त्यसलाई सिधै हत्या मानिने संसारमै अनौठो ब्यबस्था गरेको रहेछ। मर्न दिनै हुँदैन भनेर कानुन बनाउनु र बिरामी मर्नु भनेको चिकित्सकको लापरबाही नै हो भनेर ठोकुवा गर्नु, सर्वमान्य प्रकृतिको नियममाथिको प्रहार हो।  जसका सामु तपाईं त झुक्नुहुन्छ भने हाम्रो के हाल होला?
हे कालदेव! तपाईंका दुतलाई भुलाएर, फकाएर  वा भनसुन गराएर प्राप्त आयुबाट बिरामीमा जुन मुस्कान देख्न सकिन्छ, त्यसैले नै हाम्रो जिन्दगीलाई सार्थक बनाउँछ। हामिले आफ्नो जिन्दगी नै त्यही अमूल्य मुस्कानको खोजीमा अर्पित गरेका हुन्छौं। 'जसरी भए पनि बचाइदिनुस हजुर!' भन्दै गरेका बिन्तिलाई सकेसम्म पूरा गरिदिनु  नै हाम्रो मुख्य धर्म हो। '
मेरो जिन्दगी तपाईंको हातमा छ' भन्नुको पछाडि कति ठूलो विश्वास र आशा लुकेको छ, त्यो सजिलै ठम्याउन सकिन्छ। र, यहि आशा र बिश्वासमा नै चिकित्सक  र बिरामी बिचको सम्बन्ध झाँगिने गर्छ। भनिन्छ बिश्वास जित्न सकियो भने बिरामिको आधा रोग सन्चो हुन्छ। तर मुलुकी ऐनले  'बिरामिको मृत्यु चिकित्सकको  लापरबाहीले नै हुन्छ' भनेर ठोकुवा गरेपछी के अब बिरामिको बिश्वास जित्न सजिलो होला?
राम्रै उपचार गर्दा पनि बिरामीको मनमा  'कतै यसले लापरबाही त गरिराखेको छैन' भन्ने भावना जागे त्यसले उपचारमा के असर पार्ला ? के यो कुरा सरकारले सोचेको होला त?
मृत्यु लापरवाहीले नै हो भन्ने ठोकुवा गरेपछि , बिरामिको मृत्यु भइहाले आफन्तले हाम्रो के हाल गर्देलान्?
परिवारको जिम्मेवारी काँधमा लिएर बसेको मान्छे बिना कसुर हत्याको अभियोगमा जेलको छिडिमा बस्दा  उसको मन कति पोल्ला? भिडले लापरबाहीको फैसला गरि आवेगमा आएर चिकित्सकको  ज्यान लिदा के होला? सरकार त 'एउटा घटना' भनेर पन्छेला, किनकी उसलाई नेपालमा उपचार गराउनै पर्दैन र उसलाई नेपाली चिकित्सक चाहिँदैन पनि। तर आम नेपाली जनतालाई चाहिने त नेपाली चिकित्सक नै हुन्  नि। मनोबल गिरेका चिकित्सकले  कस्तो उपचार देलान्?  मलाई यो मुलुकी ऐन आम नेपाली जनता माथीको नमिठो  मजाक जस्तो लाग्छ।
जीवनदाता भनी कहिलेकाहिँ हामीलाई देवत्वकरण गरेपनि हामीमा देवताको अंश छैन। सायद दुश्मन नै भए पनि भलो चिताउने गुण पक्कै पनि भगवानले हामीलाई मनग्य दिएको हुनुपर्छ र यही नै गुणले हामिलाई अरु भन्दा फरक देखाउने गर्छ। कोही बिरामी पर्दा उसका आफन्त सँगै हामीले नि कयौं रात अनिँदो नै कटाउँछौ।  आफन्त गुमाएर भक्कानिएकालाई आफ्ना आँसु लुकाएर फकाउँछौ। कसैको जिन्दगीमाथि खेलबाड र लापरवाही गरेर हामीले पाउने केही पनि छैन। के एउटी आमाले आफ्ना सन्तानको रेखदेखमा लापरवाही गर्छिन होला? तैपनी कयौं केटाकेटीले दुर्घटनामा ज्यान गुमाएका हुन्छन्। के त्यसलाई आमाको लापरबाही भन्न मिल्ला?
अस्पतालका बेडमा रोगले थलिएर छटपटिएकाहरु, बिरामीको स्वास्थ्य सुधारको प्रतिक्षामा कुरुवा बसेकाहरु र स्वास्थ्यलाभको कामना गर्दै कहिले फर्केर आउला भनि आशैआशमा बिरामीलाई कुरेर बसेकाहरु सबैको ओठमा मुस्कान ल्याउन चिकित्सा क्षेत्रमा होमिएकाहरु आज म जस्तै नैरास्यतामा डुबेका छन्।  अब हाम्रो उद्धार हजुरबाट मात्रै सम्भव छ। हामी सम्पूर्ण नेपाली चिकित्सक हजुरका सामु एउटै बिन्ती बिसाउछौं, कृपया हाम्रा अगाडी हाम्रा बिरामीलाई नउठाइदिनु  होला।
बरु हाम्रो आयु छोट्टाएर बिरामीको आयु बढाइदिनु भए हामी खुसी हुनेछौं । किनकी अपमानले भरिएको लामो आयु भन्दा सम्मानजनक छोटो आयु जिउनुनै सार्थक ठानिन्छ। त्यती नि गर्न नसकिए हामीलाई आकाशवाणी होस्, अब तेरो बिरामी मर्दैछ, जति चाँडो सक्छस् रिफर गरिहाल भनेर । कि अघिल्लो दिन सपना होस्, 'भोलिको त्यो बिरामीलाई तैँले छुदै नछुनु, मैले पक्का उठाउने भ'को छु, तँलाई बेक्कारमा लापरवाहीको गाल पर्ला' भनेर ।
हाम्रा  दिन बिग्रेको बेला कालो बिरालोलाई बाटो काट्न लगाउनु,  हामी त्यसैलाई अशुभ संकेत सम्झेर बिदामा बसौंला। तर हे कालदेव ! त्यो लापरवाहीको कालो दाग लगाएर बाँच्न नपरोस् हामीलाई। यदि त्यो दिन टार्नै सकिन्न भने हजुरले बिरामीलाई भन्दा चाडै हामीलाई नै उठाउनुहोस्, यसमा हाम्रो कुनै गुनासो रहने छैन।
निराशाले भरिएका हरफहरु कति लेखौं! चित्रगुप्त सरलाई पनि हाम्रो तर्फबाट न्यानो अभिवादन छ भन्ने कुरा सुनाइदिनु होला। हजुरबाट सक्दो सहयोगको अपेक्षा गर्दै अहिलेलाई कलम यही बन्द गर्छु।
उही तपाईंको अभागी चिकित्सक !
[ Published on Swasthya Khabar Patrika,  http://swasthyakhabar.com/story/25227 ]

No comments:

Post a Comment

Miseries of women suffering from mental illnesses

  “Why do you make these regular visits? Is it because you like me? Do you really want to have an intimate relationship with me? Please lock...

Don't miss...