मैले चुनाव जितेको भए...
करको दायरा अझ फराकिलो बनाउँथे। जुको भएपछि तिघ्रा मुन्तिरको रगत मात्र चुस्नुपर्छ भन्ने छ र? आफ्नो औकातले भ्याए तालुबाट रगत चुसेनी हुन्छ! समृद्धिको त्यत्रो सपना देखाइसकेपछि नि कर लगाउन हिचकिचाएर हुन्छ! समृद्धि र कर एउटै सिक्काका दुई पाटा हुन् भन्दै करका विरोधमा उठेका आवाजलाई दबाउँदै करमाथि कर थोपर्ने कुरामा म ढुक्क हुन्थेँ।
अहिलेकाले कर लगाउन नजानेका हुन् कि जानीजानी बुझ पचाएका हुन्, बुझ्न सक्या छैन। अण्डामा प्रतिगोटा १ रुप्पे कर लगाउँदा एउटा स्कर्पियो किन्ने पैसा जम्मा गर्न मात्र ४०/५० लाख अण्डा बिक्री हुनुपर्छ। यसका लागि सम्पूर्ण नगरबासीले अनिवार्य रुपमा कुखुरा पाल्नैपर्ने र नपाल्नेलाई नियमित जरिवानाको व्यवस्था गर्ने थिएँ। आफूले पालेको कुखुराको अण्डा आफैले खान नपाउने र खानै मन लागे किनेर खानुपर्ने व्यवस्था गरी कर असुलीमा वृद्धि गर्ने थिए। ब्रोइलर र लोकल कुखुराको बिक्रीवितरणमा भिन्दाभिन्दै कर लगाई कर प्रणालीलाई थप बैज्ञानिक बनाउथेँ। बेलन (बोका) पाली आम्दानी गर्नेलाई करको दायरामा ल्याई प्रति बाख्रीका रुपमा कर उठाउने व्यवस्था गर्थें। उक्त बाख्रीबाट पाठो वा पाठी जन्मेअनुसार लालाबाला वृद्धि कर लगाउथे। गाउँघरमा समूह बनाई खसी काटी मासु बेच्नेलाई मात्र होइन करको चुहावट रोक्न रक्ति खानेलाई नि करको दायराभित्र ल्याउथेँ।
संघीयतासँगै नेताको संख्यामा भारी वृद्धि भएकाले उनीहरुको विदेश भ्रमण, औषधि उपचारको खर्च जुटाउन गाईभैंसी कर, प्रतिथाप्रो गोबर र प्रतिथुन दूध करको व्यवस्था गर्ने थिएँ। पाडालाई आवश्यकभन्दा बढी दूध चुसाई कर चुहावट गर्नेलाई कडा सजायको व्यवस्था गर्ने थिएँ। थारो भैंसी पाल्नेको भैंसी सरकारले जफत गरी काटेर मासु बेची आम्दानी गर्न पाउने कुरो उठाउने थिएँ।
खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरी अनिवार्य चर्पी बनाउनुपर्ने नीति ल्याएर चर्पी मर्मत कर लगाउने थिएँ। बारम्बार चर्पी गएर समय बर्बाद गर्नेलाई अतिरिक्त शोचकर लगाउने थिएँ। चर्पी जाँदा एक लोटाभन्दा बढी पानी खर्च गर्नेलाई लोटा कर लगाउने थिएँ। महिनावारी हुँदा काम गर्न अल्छी गर्ने महिलालाई दुई दिनभन्दा बढी रगत बगाउन नपाइने व्यवस्था गर्दै सो अवधिभन्दा बढी दिन रगत बगाए अतिरिक्त दिनको जरिवाना तिर्नुपर्ने व्यवस्था गर्ने थिएँ।
समृद्धि नेपाल निर्माणका लागि महिलाले महिनावारी हुँदा प्रयोग गर्ने प्याडमा नि करको व्यवस्था गर्ने थिएँ। कर असुलिमा वृद्धि गर्न विभिन्न कारणवश नियमित महिनावारी नभई प्याडको प्रयोग खासै नगर्ने महिलालाई जरिवानाको व्यवस्था गर्ने थिएँ।
विवाहित जोडीको लागि सम्भोग करको नयाँ नियम लागू गर्ने थिएँ। नियमित सम्भोग गर्दा नि गर्भवती नभएमा परिवार नियोजन साधन प्रयोग कर लगाउने थिएँ। र, गर्भवती भएमा आवश्यकता अनुसार गर्भपतन र शिशु जन्मकरको व्यवस्था गर्ने थिए। शिशु जन्मेपछि न्वारान कर, भातखुवाइ कर, बामेकर आदि इत्यादिको व्यवस्थ गर्ने थिएँ। साथै नवजात शिशुको लागि स्तनपानकर पनि लागू गर्ने थिएँ। सन्तानका रुपमा छोरो जन्मे छोरी किन नजन्माएको भन्ने र छोरी जन्मे छोरो किन नजन्माएको भन्ने प्रश्न तेर्स्याउँदै जरिवाना असुल्न मिल्ने कानुनको निर्माण गर्ने थिएँ। एउटै बेतमा जुम्ल्याहा छोराछोरी जन्माउनेलाई कुन शीर्षकमा हर्जाना तिराउन सकिन्छ भन्ने कुराको छलफल अघि बढाउने थिएँ।
सडकका खाल्टा पुर्न चाडपर्व करको व्यवस्था गर्ने थिएँ। चेलिबेटीले पाएको दक्षिणाको ५० प्रतिशत सरकारलाई दिनुपर्ने व्यवस्था गर्दै सय रुप्पेभन्दा कम दक्षिणा दिनेलाई कारबाहीको घेरामा तान्ने व्यवस्था गर्ने थिएँ। असार १५ मा दहीचिउरा कर, नागपञ्चमीमा नाग टाँसेको कर, जनैपूर्णिमामा डोरो बाँधेको कर, तीजमा दर खाएको र व्रत बसेको कर अनि दसैंमा आशीर्वाद करको व्यवस्था गरी राज्यको आम्दानी वृद्धि गर्ने थिएँ। तिहारमा भैलो खेली आम्दानी गर्नेहरु पनि करको दायरामा तानिने थिए।
अनसने सन्तलाई सधैं सहयोग गरिरहने सरकार र असहयोगी डाक्टर भनाउँदालाई सबक सिकाउन विभिन्न जरिवानाको व्यवस्था गर्ने थिएँ। सुई लगाउँदा दुखाइदिएमा पेनजरिवाना, तिता औषधि दिएमा टेस्ट जरिवाना, एक्सरे वा सिटिस्क्यान गर्न लगाएमा हेल्थ हाजार्ड जरिवाना, क्लिनिकल एक्जामिनेसन गर्दा जिउ छोएमा लैंगिक हिंसा जरिवानासँगै एक हप्तापछि फेरि आउनुहोला भनी फलोअपमा बोलाउनेलाई अनावश्यक दु:ख दिएको ठहर गर्दै कडा कानुनको व्यवस्था गर्ने थिएँ।
देश बनाउने काममा कुनै पनि योगदान नपुर्याएका र सरकारलाई आर्थिक बोझ बढाएर आफू हाइसन्चले बसेका अन्धाहरुलाई दृष्टिविही कर, कान नसुन्नेलाई बहिरो कर र अन्यलाई एकीकृत रुपमा लुलोलंगडो करको व्यवस्था गर्ने थिएँ। कपालमा लगाउने तेलको प्रयोगमा भारी गिरावट ल्याई कर असुलीमा असहयोग गर्ने तालु खुइलेहरुलाई जरिवानाको व्यवस्था गर्ने थिएँ। बूढो हुँदा पनि आत्महत्या नगरेर काल कुरेर बस्ने र सरकारको वृद्धभत्ता पचाउनेलाई निश्चित उमेरपछि अतिरिक्त आयु कर लगाउने थिएँ।
समृद्धिको सपना लुरेतुरे तरिकाले सफल नहुने भएकाले नयाँनयाँ करका शीर्षक पत्ता लगाउन एउटा आयोग खोल्ने थिएँ र त्यो आयोगका पदाधिकारी आफन्तीले भर्ने चाँजोपाँजो मिलाउने थिएँ। उनीहरुका लागि मोटो तलब, विभिन्न सेवासुविधा र अतिरिक्त भत्ताको व्यवस्था गर्थें। आयोगका पदाधिकारीहरु अनिवार्य रूपमा शरीर जाँच गराउन प्रत्येक ६ महिनामा विदेश जानुपर्ने व्यवस्था आयोगकै नियमावलीमा लेख्न लगाउँथे। र, कर लगाउँदैमा समृद्धि नआउने तर्क दिँदै उनीहरुको तलबभत्ता र अतिरिक्त आम्दानीमा कुनै कर नलाग्ने व्यवस्था गर्थेँ।
मैले चुनाव जितेको भए समृद्ध नेपाल र सुखी नेपालीको सपना चाँडै पूरा हुने थियो। माफ गर्नुहोला, मलाई पत्याउनुभएन। मैले चुनाव हारेँ।
[Published on "Nepal Live" http://nepallive.com/story/30241 ]

No comments:
Post a Comment