Saturday, November 24, 2018

फरक कथा #She_too (Story)





दैबले उसलाई छोरिको बरदार दिए पनि अस्तित्वमा आए देखी उसले आफु के हुँ भनेर चिन्न सकेकी थिएन। स्नेहको  सानो संसारमा उसका कलिला अङ्गहरु  तङ्ग्रीनमा नै मस्त थिए। छातिमा धड्कने मुटुका  प्रत्यक धड्कनले उसको आत्मलाई सजिबत्व प्रदार गर्दथ्यो। "कति कि भएँ म ?" कहिले काहीँ गन्न म लाग्थ्यो उसलाई। ऊ आफ्ना औला तिर निहाल्थी, जुन अझै सानै थिए। " भैगो! पछि गनुम्ला।" भन्दै चित्त पनि बुझाइदिन्थी। पौडिन खुब रमाइलो लाग्दथ्यो उसलाई। जलमग्न संसारको गर्भोदक कुण्डमा डुबुल्की मार्दै  ऊ आफ्ना जिन्दगीका सपना खोज्दथी। कहिले भित्तामै टाँसिएर बाह्य दुनियाँका अस्पष्ट तर दुष्ट सुझाबका तरङ्गहरु महसुस गर्थी। र एक्ली ऊ फुर्सद बेला स्वयम रचित स्वप्निल दुनियाँका गैरी खेतलाई चाहानाका बालीले सजाउँथी र अठोटको कुलेसोले सिंचित  गर्थी ।

 पुर्णिमाका  ब्रतहरुमा गाएका भजनहरुमा ऊ पनि उफ्रि उफ्रि नाचेकी थिइ, त्यसको उदेश्य प्रती पुरै अनबिज्ञ भएर। ब्रत दोषरहित भएमा इच्छापुर्ति कुनै बाधा नै नरहने कुरा सुन्दा उसकी आमा सङै ऊ पनि खिस्स हाँसेकी थिइ अन्जानमै। आमाले चित्तशुद्धिका लागी जपेका दैबका नामहरु  ऊ पनि दोहोर्‍याउँथी। धाममा गएका बेला साहिँली आमाले ल्याइदिएको प्रसाद आमाले खाँदा उसका रक्तकोशिकामा पनि त्यसका अवयबहरु घोलिएका थिए। कुनै दिन इतिहास दोहोरिने शंकामा आमा चिन्तित हुँदा उसका मनमा पनि जाँगर चल्दैनथ्यो र ऊ सुसुप्त भएर घन्टौं बसिदिन्थी ।

एक दिन ऊ आफैले राम्ररी थाहा पाउनु पुर्व, उसको अनुमती बेगर उसलाई उस्को लैङ्गिकताको परिचयपत्र मात्र दिइएन, उसका परिवारको आशालाई पनि धक्का दिइयो। पबित्र मनले गरिएको पुर्णिमाको ब्रत माथी पनि अनेक लान्छना लगाइयो। पुर्बजन्ममा  नगरिएका  कपोलकल्पित पापको सम्पुर्ण दोष उसकी आमा माथी थोपर्दै  सुरु भयो ' पराई घरमा जानेलाई किन जन्माउने ' भन्ने पट्यारिलो बहस। मानौ कि  उस्को परिवारको सामाजिक इज्जत प्रतिष्ठा बचाउनका लागी भए पनि ऊ गर्भमै बिलाउनु पर्दछ      किनकी वंस बिस्तारको दाइत्वो उठाउने स्वघोषित कथित तिलश्मी  हैसियत उसमा थिएन। ब्रह्माण्डको अस्तित्व पुरुषको लिङ्गमा अडिएको हुन्छ भनेर बिस्वास गर्नेहरुका अगाडी ऊ एकाएक निरिह बन्दै गइ। "अनिकालमा बिउको जोहो गर्नेहरुले खडेरिमा कसरी अन्न उत्पादन गर्न सक्छन?" बर्षाको मेघ गर्जिएझै गर्झियो उसका मनमा यो प्रस्न, तर खै कसलाई सोध्नु?


दिन दिनै बढ्दै गएको परिवारको  घोचा, झपाराई र घट्दै गएको सम्झाइ बुझाइ अनि  छिमेकी र आफन्तले देखाएको अनावश्यक संबेदना पछि उसकी आमा उसको अस्तित्व अन्त्य गर्नमा मन्जुर भई। आमाको आत्मा बोल्यो "मेरै नियती भोग्नलाई मैले तलाई किन जन्माउँ? आफ्ना गर्भमा फुल्नै आँटेका कोपिलालाई नफक्रीदै निमोठेर हुत्याउदा कति ग्लानी हुन्छ त्यसको लेखाजोखा यो समाजले कहिल्यै गरेन। आफ्नै सन्तानको हत्याको अपराध बोकेर जिन्दगी जिउन कुन आमालाई रहर लाग्छ होला? यदि मेरि आमाले मलाई यसै गरि हुत्याइदिएको भए मैले यो दिन त सामना गर्नु पर्ने थिएन। यहि हिनताबोध र ग्लानी सहनैका लागी म तँलाई किन जन्माउँ? तँ नजन्मेकै जाती !"

आमाको आत्मभाबको महसुस सङ्गै उसका आँखा रसाए। उसलाई एकाएक बिद्रोह गर्न मन लाग्यो, तर गर्ने कसरी?
उसले बिनम्र हुँदै बिन्ती बिसाई " आमा तिमी बिना उनका वंस धान्दिनेहरु कँहाबाट आउँछन, सोध्यौ कहिले? अधिकांस फुलहरु फुलिसकेपछी बोटबाट छुट्टिएर जान्छन तर के बोट कहिल्यै कोपिलाउन हिच्किचाएको छ? उनका इज्जत हामीमा नै भर पर्दछ भने कहिल्यै तिनले हाम्रो सम्मान गर्न जाने?  आमा बरु मैले फक्रीएर सुगन्ध छर्न नसके मृत्युबरण गरुला तर त्यो तिलस्मी दुनियाँको झल्को देख्नु अधि नै मलाई निर्जिब नतुल्याउ। म मेरो चाहानाले आएकी होइन तर मेरो बाँच्ने चाहाना त पुरा गरिदेउ।"


पितृसत्तात्मक दम्भको बिधानमा उसको लिलाको अन्त्य पहिले नै लेखिएको थियो, त्यसैले उसको बहस र गहकिला तर्कको त्यहाँ कुनै तुक थिएन। उसका प्रश्नका धारिला चोट आमाका हृदयमा नलागेको होइन, तर मलम नै नहुने घाउ लाग्नु भन्दा मलम भएकै घाउ लाग्नु सहि! यो भन्दा पहिला नि सहेकै हो, यो पटक सहन के गार्हो?  गर्भ गिराउने अनेक कारणका सामु निरन्तरताका लागी उठेका आवाज आफै निसास्सिए पछि पाप नलागोस भन्ने कामना बाहेक  बिचरी आमा के नै गर्न सक्थी !


कुनै फार्मेसीबाट तेब्बर पैसा हालेर किनिएका केहि थान  चक्कीहरु पानीको घुट्की सङै निलिए पछि छोरीको झिनो आस पनि ओइलाउन लाग्यो। चक्किका बिषाक्त अबयबहरु रगतमा घोलिदै गर्दा अर्ध बेहोसी मै ऊ बर्बराई " आमा मलाई बाच्नँ देउ! आश देखाएर सिध्याउनु भन्दा बरु बन्नै नदिएको भए जाती हुन्थ्यो। म द्वारा मै जन्मिदा किन सबै निरास हुनु पर्ने?  कृपया म अबुझलाई बुझाइदेउ न तिम्रा समाजका नियम..... ।" उ एकाएक सजिबबाट निर्जिब मा परिबर्तन हुँदै गइ। बाहिर पर कतै तिहारका पटका पड्केका झस्क्याउने आवाजहरु आइराखेका थिए। अन्तिमक्षणमा उसका श्रवण अंगहरु गुन्जिए " पल्लो गाउँमा एकजना माता आउनु भको छरे, पुत्रपाप्तीमा फरकै नपर्ने रहस्य खोल्नु हुन्छरे, आफ्नो पालो लेख्न नछुट्याउनु। बरु भोली नै जानु, लक्ष्मीपुजाको सामान पनि त किन्नु छ।"

No comments:

Post a Comment

Miseries of women suffering from mental illnesses

  “Why do you make these regular visits? Is it because you like me? Do you really want to have an intimate relationship with me? Please lock...

Don't miss...