Saturday, June 13, 2020

एमबिबिएसका ती दिन

एमबिबिएस प्रथम वर्ष
त्यो घटना अन्तर्राष्ट्रिय मिर्गौला दिवसको थियो। नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी (एनएमएसएस) ले राजधानीका केही ठाउँमा हेल्थ क्याम्पको आयोजना गरेको थियो। चिकित्सा शास्त्र प्रथम वर्षको छात्रले पहिलो पटक समुदायमा गएर डाक्टरका रुपमा काम गर्न पाउने मौका पाउँदा दङ्ग पर्दै म त्यस दिन बिहानै कृष्ण मन्दिर परिसरमा पुगेको थिएँ। 
छातीमा दुई वटा मिर्गौला भएको सेतो रङको टिसर्ट लगाएका साथीभाइ र सिनियरहरु आआफ्ना काममा व्यस्त देखिन्थे। मलाई देख्नासाथ एक जना सिनियर दाइले इसारामै 'किन ढिला?' भनेर साउती गर्नु भो। मैले आफूले केही दिन अगाडि मात्र किनेको बिपी सेट देखाउँदै आज आफ्नो  प्रेसर नाप्ने इच्छा अप्रत्यक्ष रुपमा प्रकट गरेँ।
प्रथम वर्षको छात्र भएकाले मेरा लागि प्रेसर नाप्नु चिकित्सकका रुपमा गर्न सक्ने सबैभन्दा ठूलो काम थियो। मेरो इच्छालाई पूर्ण रुपले बेवास्ता  गर्दै दाइले मेरो बिपी सेट खोसेर सहपाठी मिलनलाई दिँदै 'प्रेसर नेहा र मिलनले नाप्छन्, तिमी र नितेश मिलेर यता हिँड्दै गरेका बुढापाकालाई सम्झाएर क्याम्पसम्म ल्याउ' भन्नुभयो।
मलाई घोर निराशाले छोप्यो। मैले आफ्ना इर्ष्यालु नजर नेहा र मिलनतिर फ्याँकें। उनीहरु सानदार रुपमा घाँटीमा आला भिरेर  कुर्सीमा बसेका थिए। नितेशले नजिक आएर सान्त्वना दिँदै भन्यो, 'ह्या चिन्ता नलेऊ, एक छिन काम गर्‍याझैं गरेर बंगलामुखी घुम्न जाउँला। डाक्टर नै बन्न नपाएपछि केको ड्युटी।' मलाई उसको सुझावले केही राहत मिल्यो। मैले मिलनतिर हेरेर मनमनै भनें, 'तपाईंको प्रेसर यति बाई यति' भन्दै दिनभर तैँ बस्।'
क्याम्प सुरु भयो र बुढापाका जम्मा गर्ने हाम्रो काम पनि। मैले मिर्गौला दिवसको नारा कण्ठ पारेको थिएँ। हाम्रो काम उति गाह्रो पनि थिएन। साउथ इन्डियन चलचित्रमा जस्तो बुढापाकाको अगाडि हिरो जसरी देखापर्ने, नमस्कार गर्ने, मिर्गौला दिवसको नारा एकै श्वासमा भट्याउने, स्याँस्याँ गर्दै मिर्गौलाको महत्वबारे बर्णन गर्ने र दस औंल जोडेर सित्तैमा बिपी र सुगर नाप्न अनुरोध गर्ने। कसले धेरै मान्छेलाई क्याम्पमा पठाउने भनेर  नितेश र मेरो टक्कर परेको थियो।
उसको मिठो आवाज र हँसिलो चेहराले गर्दा उसलाई जित्न निकै  सकस परिराखेको थियो मलाई, तर हार मान्ने सुरमा म थिइनँ।
परबाट एउटा ८० वर्ष आसपासका वृद्ध आइरहेको देखेर शिकारीले शिकार झम्टेझैं म उनको अगाडि उपस्थित  भएँ। मेरो अकस्मातको उपस्थितिले उनलाई नराम्ररी झस्कायो। तर उनको झस्काइलाई पूरै बेवास्ता गर्दै मैले आफ्ना दुई हात जोडेर टाउकोलाई यसरी निहुर्‍याएँ कि टाउकोले गर्धनमा ठ्याक्कै नब्बे डिग्रीको कोण बनायो। बुढा बाले झोक्किँदै छातीमा दुई वटा मिर्गौला भएको मेरो सेतो टिसर्टलाई कम्मरछेउ समात्दै भने, 'के गरेको?'
'नमस्कार गरेको' मैले अक्मकाउँदै भनें।
'किन गरेको?'  बाको रिसको पारो झन् बढ्दै थियो। सुरुमा नमस्कार गर्नु भनेर मलाई सिकाइए पनि किन नमस्कार गर्ने भनेर चाहिँ मलाई सिकाइएको थिएन। नपढेको पाठबाट प्रश्न आउँदा परीक्षा हलमा विद्यार्थीको हविगत जस्तो हुन्छ, मेरो हाल ठ्याक्कै त्यस्तै भयो। पास भइहालिन्छ कि भनेर उत्तर नआए पनि कापीका पाना भर्ने विद्यार्थी सरह मैले पनि पास हुने झिनो प्रयास गरें, 'आज मिर्गौला दिवस हो, त्यही भएर।'
'अनि मिर्गौला दिवस हो भन्दैमा यसरी झस्काउन पाइन्छ?'  बाको आवाज यति उच्च भयो कि छेउछाउबाट जानेले पनि फर्किएर हेर्न थाले। मेरो अनुहार लाजले रातो भयो। जति सक्दो चाँडो परिस्थितिलाई सम्हानुपर्ने दबाब ममा आइलाग्यो र यही दबाबमा मैले मिर्गौला दिवसको नारा पनि बिर्सिएँ। केही त पक्कै भन्नु पर्थ्यो नत्र परिस्थिति झन् बिग्रन सक्थ्यो  र मैले पुन: हात जोडें। 'फेरि नमस्कार गर्‍यो।'
'आज मिर्गौला दिवस भएकाले हामीले बुढापाकाको बिपी र सुगर जाँच गर्दै छौं, हजुरको पनि...'
'कसलाई बुढो भन्या? तँ कति को भइस् भन् त।' मैले भनें, 'म उन्नाइस वर्ष।'
'कहिले आफ्नो चेहरा ऐनामा हेर्‍या छस्? अनुहार हेर्दै बिरामी होला जस्तो छ। खै अनुहारमा चमक? हेर त म ७७ वर्षमा पनि कति स्वस्थ छु। अहिलेसम्म एउटा गोली खान पर्‍या छैन। आजकलका भुराभुरीलाई जन्मेदेखि गोली खानुपर्ने। यो सब तिमीहरुले बिगारेको हो। म भन्दा तैँ बढी बिरामी देखिन्छस्। जा सित्तैमा बिपी र सुगर तैँले चेक गरा।'
एमबिबिएस तेस्रो वर्ष 
हामी प्रोफेसरका अगाडि केही पनि नजान्ने थियौँ भने बिरामीका अगाडि ज्यान बचाउने भगवान। कुनै बिरामीले 'तपाईंहरु त भगवान हो नि' भनिदिँदा सम्मान गरेको कि उपहास भन्ने छुट्याउनै धौधौ पर्थ्यो। मेडिकल कलेजमा तेस्रो वर्षको विद्यार्थीलाई कसैले भाउ दिन्थ्यो भने ती बिरामी र उसका कुरुवा मात्र हुन्थे। र, त्यही भाउले हामी भित्रको हिम्मत ह्वात्तै बढाइदिन्थ्यो। 
हामी त्यही भाउको खोजीमा हरेक दिन अस्पतालका वार्ड चाहार्थ्यौँ, बलीको बोकालाई बिरामीका बारेमा सोध्नपुछ गरेर हिस्ट्री लेख्न लगाउथ्यौँ र बाँकीले आफ्ना अगाडि हुन लागेको हलाल दङ्ग परेर हेर्थ्यौँ। त्यो दिन बलीको बोका मिलन र जेनिसा बनेका थिए।
बालरोग विभागको एउटा वार्डमा भएको निमोनियाको बिरामी बालकको हिस्ट्री लिने काम मिलनको थियो भने उसलाई आवश्यक सहयोग गर्ने काम जेनिसाको। बाँकी सब रमिते बनेका थियौँ।  
सिकिस्त बालकको दायाँतर्फ एक महिला बसेकी थिइन् भने बायाँतर्फ एक पुरुष। मिलनले सोधपुछ सुरु गर्‍यो। सिन्धुपाल्चोकको दुर्गम गाउँबाट आएका गुरुङ भाषी बिरामी कुरुवासँग। हिस्ट्री लिन बहुत गाह्रो थियो। हाम्रा आधा कुरा उनीहरु बुझ्दैनथे र उनीहरुको आधा कुरा हामी।
हिस्ट्री लिने सिलसिलामा मिलनले बिरामीको दायाँ सिरानमा बसेकी महिलालाई संकेत गर्दै सोध्यो, 'तपाइँ बिरामीको को पर्नुहुन्छ?'
'आमै हुँ बाबै म यसको,' ती महिलाले लामो श्वास फेर्दै भनिन्।
'अनि हजुर चाहिँ बुबा?' मिलनले पुरुष कुरुवातर्फ प्रश्न तेर्स्यायो।
मिलनको प्रश्नले रन्थनिँदै ती पुरुष आफ्नो कुर्सीबाट उठे र लगभग पिटिहालुँला झैं गरेर मिलनसँग जङ्गिए,  " मलाई मेरि आमाको पोइ बनाइदिन लाज लाग्दैन तपाइँलाई! कस्तो डाक्टर रहिछ यार? बिना सित्ती आमाको पोइ बनाइदिँदै हिड्छ। यो बिरामी मेरो भाइ हो।"
र  निरीह प्राणीको हलाल सम्पन्न भयो।

एमबिबिएस पाँचौ वर्ष 
मेडिकल कलेजमा अनेकौं गुरुसँग धेरै कुरा सिके पनि कुनैकुनै गुरुबाट सिकेको कुराले धेरै गहिरो छाप लाग्दो रहेछ। भोजराज लुइँटेल सरको एउटा अचम्मको बानी थियो। सरले बिरामीको आफ्नै भाषामा बोल्नुहुन्थ्यो। सुदुरपश्चिमबाट आएकासँग डोटेली भाषाका, पूर्वी तराईबाट आएकासँग मैथिली भाषाका शब्द प्रयोग गरेर हिस्ट्री लिँदा बिरामीहरु दङ्ग पर्थे। भोजराज सर भन्नूहुन्थ्यो बिरामीको आफ्नो भाषा प्रयोग गरिदिँदा बिरामी र डाक्टरबीचको सम्बन्ध मजबुत हुन्छ, विश्वास बढ्छ र विश्वास बढ्यो भने उपचारमा सफलता पाइन्छ।
मलाई भने नेपाली बाहेक हिन्दी र अंग्रेजी मात्र आउँथ्यो। यी दुवै नेपालको कुनै समूहको आधिकारिक भाषा थिएनन। तर पनि संसद भवनमा केही मधेस केन्द्रित दलका सांसदहरुको हिन्दी भाषाप्रतिको मोहलाई देख्दा मधेसी जनताले नेपालीभन्दा हिन्दी भाषा बढी बुझ्छन् कि भन्ने एक प्रकारको भ्रम मेरो मनमा थियो। र, यही भ्रम मनमा पालेर म आफ्नो इमर्जेन्सी वार्डको ड्युटीको बेला एउटा मधेसी मुलको बिरामीको पर्खाइमा थिएँ। 
भगवानले सबैको पर्खाइ पूरा गर्दिन्छ भने मेरो त भगवानसँग झन् कुनै दुश्मनी थिएन। एक दिन इभिनिङ ड्युटीको बेला भगवानले रोशन तिवारीलाई मेरो इच्छा पूरा गर्न पठाएँ, मेरो खुसी असीमित भयो। रङमा कालो भए पनि खुसीले चम्केको मेरो अनुहारले ओठका सहायताले बिरामी अगाडि प्रश्न तेर्स्यायो, 'आपका नाम क्या हे?'
'मेरो नाम रोशन तिवारी हजुर।' उसको उत्तर नेपालीमा आयो। मलाई लाग्यो गैरमधेसी मुलका मान्छेलाई हिन्दी खासै आउँदैन भनेर नेपालीमा बोलेको होला। बिरामीलाई सहज होस भनेर मैले दोस्रो प्रश्न पनि हिन्दीमैं गरें, 'आप कहाँ से आए हो?'


'घर चाहिँ हेटौंडा हो, तर यतै (काठमाडौं) बस्न थालेको धेरै भयो,' उसले दोस्रो प्रश्नको जवाफ पनि नेपालीमा दिएपछि म धर्म संकटमा परें। मलाई हिन्दी राम्ररी आउँदैनथ्यो। पूरै हिस्ट्री हिन्दीमा लिन सक्ने क्षमता ममा थिएन। सम्बन्ध राम्रो होस भनेर सुरु गरेको खेलमा म आफैं फसेको थिएँ। मैले लाज पचाएर विस्तारै नेपालीमा प्रश्न सोध्न थालें। मैले हिन्दीमा कुरा किन सुरु गरे भन्ने कुराको भेउ उसले नपाओस् भनेर धेरै नै संयमित भएँ। हिस्ट्री सकिएपछि औषधि किन्न थमाएको कागज आफ्नो खल्तीमा राख्दै उसले भन्यो, 'आप इन्डियन हो कर भL कितनी अच्छी नेपाली बोल लेते हो।'

[ Published on Swasthyakhabar Patrika :- https://swasthyakhabar.com/story/32913 ]

No comments:

Post a Comment

Miseries of women suffering from mental illnesses

  “Why do you make these regular visits? Is it because you like me? Do you really want to have an intimate relationship with me? Please lock...

Don't miss...