Saturday, June 20, 2020

एक बाहुनको आत्मालोचना

म जातले एक बाहुन हुँ। र, सानैदेखि यसको अगाडि उपाध्याय पनि थप्नु पर्छ भनेर मलाई सिकाइएको थियो। अघिल्लो जन्ममा धेरै पुण्य कमाएकाले यस जुनीमा बाहुन भएर जन्मेको कुरामा मलाई गर्व गर्न सिकाएसँगै मैले आफूभन्दा कथित तल्लो जातलाई पापी मान्न सुरु गरेको थिएँ।
समाजले मेरो सोचलाई मलजल गर्‍यो र झन जब्बर बनायो। जुन कुरा बाल्यकालमा सिकिन्छ, त्यो कुराले सोचाइमा यति बिघ्न कब्जा जमाउँछ कि छुपाउने लाख कोसिसका बाबजुद त्यो हरबखत देखा पर्छ। र, यही सोचाइ छताछुल्ल पार्न यो आत्मालोचना लेखिएको हो। यो आत्मालोचना कथित माथिल्लो जात बाहुनमा हुन अत्यावश्यक छ।


मलाई केही समय पहिलेसम्म लाग्ने गर्थ्यो, म जातीय विभेदको विरुद्ध छु। मलाई लाग्थ्यो कि बाल्यकालमा अन्जानमै सिकिएका तमाम जातीय विभेदका लवजहरुलाई मेरो मस्तिष्कका अध्यारा कुनामा मुर्दा बनाई गाडिसकेको छु। चरित्रको ऐनामा आफ्नो स्वघोषित विद्रोही स्वोरुपको प्रतिबिम्व देखेर म आफैं दङ्ग पर्थें।आफू जातीय विभेदको खिलाफमा छु भनेर प्रमाणित गर्न मसँग सामाजिक सञ्जालमा लेखिएका तमाम स्ट्याटसहरु थिए। र, सबैभन्दा ठूलो कुरो त मेरो आफ्नो अभिनयले कसैलाई थोरै शंकासम्म गर्ने ठाउँ छोडेको थिएन। 
अबका एकाध वर्षमा मैले जिन्दगीको तेस्रो दशक पार गर्ने छु र मलाई यो नसिब बाहुन भएकैले प्राप्त भएको भन्ने लाग्न थालेको छ। नत्र त यो जलस्रोतको धनी देशमा हजारौं नदीहरु कलिला दलितका लास बगाउन सधैं आतुर देखिन्छन्। दलित नभएकै कारण जिन्दगीका हजारौं चाहनाहरुलाई अल्पायुमै तिलान्जली सायद मैले दिनु नपर्ला। तर भेरीमा बगेका अधुरा सपनाका सरापको सजाय कसले बोक्ने? नवजात कोपिलाहरु नफक्रिँदै चुडालिनुमा दोष कसको? यी प्रश्नले मलाई पटकपटक घोच्न थालेका छन्।
मलाई उत्तर थाहा नभएको होइन, तर आफ्नो ढोङ्गी विद्रोही चरित्रलाई उदाङ्गो बनाइदिने ती उत्तरहरु सहर्ष स्वीकार गर्नु आफ्नो अटल दम्भमाथि प्रहार गर्नु थियो। ती उत्तरहरु पचाउन बहुत कठिन छ, किनकी तिनले मेरो स्वघोषित जातीय विभेद विरुद्धको बिम्वलाई उपहास गर्थे।
पश्चिम रुकुमको नरसंहार म जस्ता ढोङ्गी विद्रोहीको कुशल अभिनयको परिणाम हो, जसले लवजमा जातीय विभेद विरुद्धका नारा झुन्ड्याए पनि मस्तिष्कमा त्यही विभेदलाई बिना संकोच हुर्काएको हुन्छ। हाम्रा लवजका शब्दहरुमा जातीय विभेद विरुद्धका नाराहरु गुन्जिए पनि भावमा त्यही विभेदको समर्थन छचल्किरहेको हुन्छ। हामी सरल वाक्यमा प्रकट गर्न सकिने विरोधमा पनि किन्तु-परन्तु जोडेर यति जटिल बनाउँछौ कि जातीय विभेद कायम रहोस भन्ने आफ्नो चाहना सुटुक्क घुसाइदिन्छौ। हत्या जस्तो जघन्य अपराधमा पनि तर्क प्रस्तुत गर्छौं। र, सँगसँगै आफूलाई विभेद विरुद्धको नायकका रुपमा चित्रित गर्न पछि पर्दैनौं। हाम्रो दम्भले हामीलाई सत्य स्वीकार गर्नबाट रोक्ला तर हाम्रो अस्लिल अभिनय र द्वैध चरित्रकै कारण भर्खरै भेरीले आधा दर्जन सपनाहरूलाई अधुरै बगाइदिएको छ।
पुराना भइसकेका स्मृतिका पानाहरुलाई गिजोलेर हेर्दा आफूलाई नै धिक्कार्नु पर्ने तमाम क्षणहरु मेरा अगाडि नाचिरहेका छन्।
एक पटक हामी पाँच जना साथी मिलेर ढोरपाटन घुम्न गएका थियौं। जाडो महिना भएकाले अधिकांश होटेल बन्द भएका थिए। बुर्तिवाङबाट करिब दस घण्टा पैदल हिँडेर ढोरपाटन पुग्दा कतै खान-बस्नकै समस्या त हुने होइन भन्ने डरले मनमा कब्जा जमाएको थियो। साझको सूर्य किरणमा चम्केको पाटनको हिउँ विस्तारै हामी जस्तै मलिन हुन थालेको थियो। घाम डाँडाका पछाडि लुकिसक्दा पनि हाम्रो बासको व्यवस्था हुन सकेको थिएन।
पाटनको बीच भागमा भौँतारिदै, मुटु नै जमाइदिने उत्तर गंगाका हाँगाहरु तर्दै र भगवान प्रार्थन गर्दै आफूले बोकेको टर्च लाइट चारैतिर फर्काएर बाल्थ्यौं, ताकि परबाट कसैले देखे हामीलाई सहयोग गर्न आउन्। र, दु:खमा परेकाहरूलाई सहयोग गर्न भगवान कहिले हिच्किचाएका थिए र?
हामीलाई पर डाँडाको कुनाबाट एउटा टर्च लाइटले सम्पर्क गर्‍यो। भक्कानो छोडेर रुन मात्र बाँकी रहेको मनबाट सहयोगका याचनाको वर्षात भयो। उक्त होटलबाट स्याँस्याँ गर्दै एक भाइ हामीलाई लिन आयो।
"बहुत अबेर भयो त, बाटो भुल्नु भयो कि?" हामीलाई राहत दिँदै ऊ मुस्कुरायो। होटेलमा लगेर आगो बाली ताप्ने व्यवस्था मिलाएपछि ऊ खाना बनाउने तरखरमा लाग्यो। 
आगो ताप्तै गर्दा हाम्रो आँखा होटेलको साइनबोर्डमा पर्‍यो, जहाँ होटेल मालिकको थर विक लेखिएको थियो। हामीले एक अर्कालाई हेर्‍यौं, सबैको नजरमा बेचैनी थियो। हामी सबै चाहन्थ्यौं कि अरु कसैले यहाँ नबस्ने निर्णय गरोस् ताकी जातीय विभेद मान्दिनँ भन्ने आफ्नो अडान कायमै रहोस। होटेल नभेट्टिए के होला भन्ने अघिसम्मको डर ताप्दै गरेको आगोमा हामीले पोलिसकेका थियौँ। आफ्नो असली चरित्र उजागर होलाकी भनेर हामीमध्ये कसैले केही बोलेन र एक पटक फेरि जातीय विभेद विरुद्ध ढोङ्गी हिरो बन्ने मौका पायौँ।

गाँस र बासको व्यवस्था गरिदिएर ज्यान जोगाइदिएको गुनलाई फर्किदा उत्तरगंगामै बगाइदियौँ र त्यो एक रातको बासलाई उदाहरण बनाएर आफू जातीय विभेदको विरुद्धमा रहेको प्रमाण प्रस्तुत गरिरह्यौं। यो हामी अधिकांश बाहुनको चरित्र हो। समाजकै उच्च जातको भनी पाएको हैसियतले हामीलाई पूरै अन्धो बनाएको छ र हामी अन्धाहरु आफ्नै गल्ती र कमजोरीहरुलाई नजरअन्दाज गरिरहेका छौं। त्यसको ब्याज कलिला दलित जिन्दगीले हरेक दिन तिरिराख्नु परेको छ।
तराईमा हुर्केको म छालाको रङका हिसाबले कालो छु। तर यही छालाको रङका कारण विगतमा नेपाल यातायातमा यात्रा गर्दा कसैले "ओए मधेसी, सिट छोड" भन्दा  "म मधेसी होइन, बाहुन हुँ" भन्दै सिट छोड्न इन्कार गरेको दृश्य झलझली याद आउँछ। आफू मधेसी नभएकाले उसलाई हेप्ने अधिकार नभएको मेरो तर्कमा जातीय विभेदको समर्थनको दुर्गन्ध कति पाइन्छ त्यो सजिलै अनुमान लगाउन सकिन्छ। हो यसरी नै जान-अन्जानमै हामीले हरेक दिन, हरेक पल विभेदलाई समर्थन गरेका हुन्छौं। जातीय विभेदका आधारहरूलाई झन् मजबुत बनाइराखेका हुन्छौं।
म त यो समाजको एक नगन्य प्रतिनिधि हुँ। विभेदका विरुद्ध लड्दै गर्दा विभेदकै समर्थनमा प्रस्तुत भएका मेरा भावहरुप्रति म स्वयं लज्जित छु। तर दशकौँ जातीय विभेदका विरुद्ध लड्यौँ, युगान्तकारी परिवर्तन ल्यायौँ भन्नेले संसदमा जातीय विभेदलाई मलजल गरेको देख्दा मेरो मन भने कुँडिन्छ।
संसद भवनमै पश्चिम रुकुममा भएको हत्यालाई झडपको संज्ञा दिँदै घटनालाई सामसुम पार्न त्यही ठाउँबाट निर्वाचित केन्द्रीय सांसद लाग्नु राष्ट्रिय लज्जाको विषय हो। जाजरकोटका दलितहरुको बाँच्न पाउने अधिकारमाथि कुठाराघात हुँदा सांसद जनार्दन शर्माले संसद भवनमा आफ्नो बोल्न पाउने अधिकार हनन् भएको कुरा दोहोर्‍याइरहे। त्यहाँका जनताको आवाज बोल्न पाउनुपर्छ भन्दै उनले कथित उच्च जातिकै पक्षपोषण यसरी गरिराखे कि मानौं उनले दलितलाई आफ्ना जनता मान्दै मान्दैनन्। उनको यो अज्ञानतामै छचल्किएको जातीय विभेदलाई समर्थन गर्ने भाव हो।
उनै जनार्दन शर्मा कुनै दिन दलित समुदायका अगाडि गएर लाजै नमानी आफू दलितको सच्चा प्रतिनिधि भएको दाबी गर्नेछन्। उनको यही  ढोङ्गी विद्रोह र अस्लिल अभिनयलाई विश्वास गरिरहँदा फेरि कुनै नदीले अर्काथरी सपनाहरु बगाइसकेको हुनेछ।
म र जनार्दन शर्मा यस समाजका प्रतिनिधि पात्र मात्र हौं। हामी सबै जानेरै वा नजानेरै जातीय विभेदको समर्थन गरिराखेका हुन्छौं र कतिपयलाई त्यसको सुइँकोसम्म थाहा हुँदैन। के तपाईंलाई आफू साँच्चिकै विभेदको विरुद्धमा छु जस्तो लाग्छ? यदि लाग्छ भने के तपाईंले गाउँघरमा आफूभन्दा अग्रज दलितहरुलाई होस वा मधेसीहरुलाई कहिल्यै तिमी भनेर सम्बोधन गर्नु भएको छैन? उनीहरुको घरमा गएर खाएको कुरालाई प्रमाणका रुपमा प्रस्तुत गर्ने तपाईंले कहिल्यै कुनै दलितलाई खाना खुवाउन आफ्नो भान्सासम्म ल्याउनु भएको छ? कुनै औधी मन मिलेको केटा/केटी दलित भएकै कारण बिहे गर्नबाट पछि हट्दैन भन्ने तागत छ तपाईंमा?
यी र यस्तै प्रश्नहरु आफैंलाई हजार पटक सोध्नुस् अनि उजागर हुन्छ तपाईंको असली चरित्र। कति ढोङ्गी छौं है हामी? यदि आफ्नो ढोङ्गको तपाइँलाई जानकारी भएमा आत्मालोचना जरुर गर्नुहोला। किनकी तपाईंकै आत्मालोचनाबाट परिवर्तनको सुरुवात हुनेछ।
संविधानमा लेखिँदालेखिँदै र अनेक कानुन बन्दाबन्दै पनि समाजमा चल्दै आएको जातीय विभेदमा कुनै कमी आउन सकेको छैन। किनकि कानुनका ती बुँदाहरु हाम्रा पारदर्शी चरित्रलाई छोप्न बनाइका फगत रङ्गिन बुट्टाहरु हुन् ताकी हाम्रो असलियत अरुलाई सजिलै थाहा नहोस। जब हाम्रो नियत नै जातीय विभेद कायम होस भन्ने  छ भने कानुनका निर्जीव बुँदाहरु लाचार हुन त्यसै विवश छ्न्।
म पहिलेदेखि नै जातीय विभेदको विरुद्धमा थिएँ भन्ने दाबी गर्ने नैतिकता मैले गुमाइसकेको छु। लास ठानेर दफन गरिसकेका विभेद समर्थित मेरा सोच पिचास बनेर हरेक दिन मलाई नङ्याइरहेछन् भन्ने भेद बल्ल खुलेको छ। बाँकी जीवन म आफ्ना लवजमा छचल्किने विभेद समर्थित भावहरुलाई निस्तेज पार्न प्रयासरत रहने छु।
मलाई थाहा छ यो काम कठिन छ, किनकी बाल्यकाल मै मेरो मस्तिष्कमा रोपिएको विभेदको बीउ अहिले सम्पूर्ण सोचमाथि बनमाराझैं फैलिएको छ। तर हाल कम्तीमा हार मानिहाल्ने अवस्थामा म छैन। म एउटा दृण प्रण पनि गर्छु कि मेरा आउने सन्ततिको सोचमा विभेदको यो बीउ रोप्ने छैन। आउनुस् जातीय विभेदको अन्त्यका लागि सबैले आफ्नो द्वैध चरित्र,अस्लिल अभिनय र ढोङ्गी विद्रोही बिम्बको विरुद्ध आत्मालोचना गरौँ।

[ Published on Nepal Live :- https://nepallive.com/story/219115 ]

No comments:

Post a Comment

Miseries of women suffering from mental illnesses

  “Why do you make these regular visits? Is it because you like me? Do you really want to have an intimate relationship with me? Please lock...

Don't miss...