Friday, January 24, 2020

छुच्ची केटी

छ कक्षामा पढ्दासम्म म पुड्कै थिएँ । अन्तिम बेन्चमा बस्दा कालोपाटीमा गुरुले गरिदिएका गणितका हिसाबका हलको माथिल्लो भाग मात्र देख्दथेँ । अगाडि बसेका साथीहरुले परीक्षामा पचहत्तर प्रतिशत ल्याउँदा मेरो भने त्यसको दुई तिहाई मात्र आउँथ्यो । त्यहीं दुई तिहाईमा पनि बाले दुई इन्च छाती फुल्याएर आफ्ना सहपाठीसँग धाक लगाउनु हुन्थ्यो, “मेरो छोराले धेरै पढेर सबैलाई देखाइदिन्छ ।”
बाले अनेकौँ गेस पेपर अनि गाइड किनेर ल्याउँदा पनि मैले बाका सहपाठीलाई धेरै पढेर देखाउन सकिन । बाको आशाको रफ्तार र मेरो पढाईमा कहिल्यै कुनै तालमेल नै देखिएन । बार्षिक परीक्षा आयो र मैले पनि आफ्नै हैसियत अनुसार कापीका पानाहरु भरेँ । बा प्रश्नपत्र हेर्दै “के लेखिस् यसमा ?” भनी सोध्दा म फुर्किदै, “ दुई बित्ता लेख्या छु बा यसको उत्तर … दुई बित्ता” भनिदिन्थेँ । बा त्यसैमा मख्ख पर्नुहुन्थ्यो ।
एक दिन हौसिदै छ कक्षाको परीक्षाफल लिन जानुभएको बा फर्कंदा निन्याउरो मुख र दुईटा विषयमा गुल्टेको परीक्षाफल लिएर फर्किनु भयो । त्यो दिन बाको मुखमा देखिएको नैराश्यताले मलाई जेठको टन्टलापुर घामले भन्दा बढी भत्भती पोल्यो । साँझ खाना खाने बेला कोही पनि एक अर्कासँग बोलेनन् । चुठेर सुत्न जानु अघि बाले आमालाई, “यहाँ पढ्ने वातावरण नै छैन । यस्तो स्कुलमा पढेर नि कोही उँघो लाग्छ ? यसलाई पनि उतै काठमाडौ पठाइदिन्छु । दिदीसँंग बसेर पढ्छ” भन्दै आफ्नो निर्णय सुनाउनु भो । बारीभरी लटरम्म बतिला लागेका आँप र लिच्ची त्यो साल मैले चाख्न पाइन ।
पहिलो पटक काठमाडौ पठाउँदा मलाइ छोड्न भालुवाङसम्म आउनु भएको बुवाले मलाइ झर्ने बेलामा, “मलाई धेरै निराश नबनाएस् बा” भन्दै आँखा रसिला बनाउँदै उत्रिनु भएको थियो । बालाई मैले बसको झ्यालबाट नियालिरहेँ । केही पर पुगेर दुबै हातले आफ्ना आँखा पुछेपछि मेरा नजरबाट बुवा ओझेलमा पर्नु भयो । त्यो दिन काठमाडौं आउँदा बाटामा देखिने मन्दिरहरु अनि बुटवल र नारायणगढका पसलहरुमा बेच्न राखिएका भगवानका फोटाहरुसँग मैले सयौँ पटक कसम खाएँ (बालाई अर्को साल सबै विषयमा उत्तीर्ण भएर देखाउँनेछु ।)
मेरो हैसियत देखेर दर्जनौँ आनाकानी पछि पद्मोदय माध्यमिक विद्यालयले आफ्नो कीर्तिमानमा लाग्न सक्ने सम्भावित धक्काको जोखिम मोलेर मलाई भर्ना गर्यो । भर्ना हुनु अघि एस.एल.सी. मा कुनै हालतमा फेल नहुने कसम खाँदा मेरो देब्रे हात अनाहकमै कौडीको छाला समात्न पुगेको थियो । स्कुल सुरु भयो अनि एकनासको दिनचर्या पनि । धुमधडाकाले पढ्छु भनेर पहिलो दिनमा नै मलाई पहिलो बेन्चमा बस्ने औधी रहर लागेको थियो तर पहिलो बेन्चमा झोला राखेर बिहानी प्रार्थनामा गएको म फर्कंदा अन्तिम बेन्चसम्म झोला भेट्याउन सकिन । झोला खोज्न दौडिएका मेरा निर्धा नजर बेला–बेला अन्य विद्यार्थीसँंग ठोक्किन पुग्दथ्यो, जुन मेरै नजरको प्रतीक्षामा यताउता साउती गर्दै बसेका हुन्थे । अपार अपमानले मेरा आँखामा जम्मा भएका लाचार आँशुका ढिक्काहरु धैर्यताको बाँध फुटाएर गालामा बाढी ल्याउन भने सकेनन् । म अन्तिम बेन्चमा गुरुको प्रतीक्षामा उभिइरहेँ ।
गुरुको प्रवेशसँगै उठेका जोशका ज्वारभाटाहरु एकाएक सिथिल भएर लडे जब गुरुले नै हाँस्दै, “घरबाट रित्तै हिँडेपछि यहाँ आएर झोला भेटिन्छ त ?” भनिदिनु भयो । त्यो दिन सारा मैले अपमानको आँसु खसालेरै बिताएँ । दोस्रो घण्टीमा एक जनाले डस्टबिनबाट झोला निकालेर मेरो छेउमा राख्दिदै फिस्स हाँस्दै छुट्टीपछि भेट्न भन्यो । उसले छुट्टीपछि दिएको सल्लाहअनुसार अर्को दिनदेखि मैले प्रार्थनामा जानु अघि झोला केटी बस्ने बेन्चमा राख्न थालेँ । त्यसपछि मैले कहिल्यै झोला डस्टबिनमा खोज्नु परेन ।
मेरा लागि सबै विषयमा सयमा बत्तीस ल्याएर पास हुनु चानचुने कुरा थिएन अनि हार मानेर बालाई निराश गराउने चाहना पनि थिएन। म विद्यालय जाँदा होस् वा फर्किदा कसरी पास हुने भन्ने छट्पटीलाई बोकेर बेसुरो तालमा हिड्थेँ । एकदिन त्यहीं छट्पटीलाई बोकेर न्युप्लाजाबाट वैद्यखानाको उकालो चढ्दै गर्दा कसैले मलाई सानो ढुङ्गाले टाउकामा हान्यो । पछाडि फर्केर हेर्दा आफ्नै विद्यालयको एउटा केटी बाहेक कोही थिएन । उ पनि हातमा किताब समातेर पढाईमा लीन भएर हिडिराखेकी थिई । सायद उसका बाले नि आफुलाई निराश नबनाउनु भन्ने उर्दी दिएका थिए होलान् । त्यसैले त बाटोमा हिड्दा पनि उ पढ्नमै व्यस्त थिई ।उसले किताबबाट आँखा उठाएर मलाई हेरी अनि के भो भन्ने इशाराले दुबै आँखीभुइँ उचाली । पछाडि फर्केर पढ्दै हिंडेकी केटी हेरेकाले मलाई भयंकर लाज लागेर आयो र म खुरुक्क अगाडि फर्केर आफ्ना पाइला अघि बढाएँ ।
दुई चार पाइला हिडेपछि पुनः मेरो टाउकोमा सानो ढुङ्गा बजारियो । मैले हतासमा फेरि पछाडि हेरेँ । उहीं केटी उसै गरी किताब पढ्दै हिड्दै आइ राखेकी थिई । उसले उसै गरी फेरी आँखीभुइँ उचाली र म पुनःलाजले अघि फर्केर हिडेँ ।
यो क्रम तीनचार पटक दोहोरिएपछि मलाई सह्य भएन र पाँचौ पटक सम्भावित समय भन्दा पहिले नै मैले उसलाई हेरेँ । उ ढुङ्गा हान्नलाई हात उठाएर तयार भएकी थिईतर मैले हेर्नासाथ उसका नजर किताबमा गाडिए ।
“ओए किन ढुङ्गा हानेको?”मैले आफूसँग भएको थोरै हिम्मतलाई बटुलेर प्रश्न गरेँ ।
“कसले ढुङ्गा हान्यो तँलाई?” उसले मेरो औकात छर्लङ्ग देखाइदिई ।
“तिमीले त हान्या हो नि, मैले देखिसकेँ ।” सरस्वतीको अकस्मात काली रुप देखेर मेरो हंसले ठाँउ छोड्यो । डरले अवरुद्ध भएको गलाले तँ भनेर सम्बोधन गर्न सकेन । मेरो ओठ सुके । यो देखेर उसको अनुहारमा सन्तुष्टिका झिल्काहरु देखिन थाले । उसको हौसला झनै बढ्यो र मेरो टाई समातेर तान्दै भनी, “देखिस् भने जा तेरो बाउलाई कुरा लगाइदे ।” टाई कसिएर हो वा डरले मलाई स्वास फेर्नै गाह्रो भयो । उसले छोपेको टाई झट्कारेर छोड्दै मेरो देवानन्द स्टाइलमा कोरेको कपाल हातले बिगार्दिएर अगाडि बढी । म निरीह भएर उ गइराखेको बाटो हेरिराखेँ । केही पर पुगेर उ फेरी पछाडि फर्किएर भनी, “लाटाले पापा र्हेया झैं के हेरिरा साला खाते ?”
स्कुलमा नि सहपाठीहरुले हेपिरहने भएकाले मलाई अरुले हेपेको पच्न थालेको थियो तर जति हेपे पनि मलाई त्यति खेरसम्म कसैले खाते चाहिं भनेका थिएनन् । घट्टेकुलोको घुम्टी काट्ने बेला मनमा एक तमासको घर फर्कने इच्छाको आँधी आयो तर दिदीलाई कसरी मनाउने ? अनि गाउँमा गएर फर्किनुको कारण के बताउने ? मैले जे बहाना बनाए पनि अरुले त पढ्न नसकेरै फर्केको सोचिहाल्थे । छ कक्षामा ती दुई बिषयमा पास मात्र भइदिएको भए नि यो अपमान सहनु पर्ने थिएन । मलाई धेरै बेरसम्म थकथक लाग्यो ।
मलाइ विद्यालय जानै मन लाग्न छोड्यो । दुई दिन त भृकुटीमण्डपको हङकङ बजार घुमेरै बिताएँ तर विद्यालयको पोशाकमा सधैंभरी बाहिर बरालिन नि सजिलो थिएन । कसैले देखेर घर कुरा लगाइ दिए बाका आँखा फेरि रसाउने थिए। मलाइ बाको आँखा रसाएको रत्तिभर मन पर्दैनथ्यो । त्यसैले म तेस्रो दिन विद्यालय नै जाने निधो गरेँ ।
विद्यालयमा त त्यो कुरा फैलिसकेको रहेछ । अप्रत्यक्ष रुपमा सहपाठीहरु त्यो कुरा झिकेर मलाई गिज्याइरहन्थे । मैले थाहा नपाएको भए बेस हुन्थ्यो तर मेरो हुर्मत लिने केटी मभन्दा अझ एक कक्षा तल पढ्ने पो रहिछे भन्ने जानकारीले मेरो बचेखुचेको साहसमा पनि भयंकर आघात पुग्यो । म कसैसँग बोल्न योग्य नरहेको अवस्थामा पुगेँ । कसैसँग बोल्नु भनेको छेड खानु मात्र हुन थाल्यो । पहिला पुग्नेले सिट रोज्न पाउने भए पनि अन्तिम बेन्चको कुनाको सिट मेरो प्रमुख रोजाइमा पर्न थाल्यो । नजिकैको चर्पीबाट पिसाबको नमिठो गन्ध आउने भएकाले अन्तिम बेन्चमा कोही बस्न खोज्दैनथ्यो । बास्ना दुर्गन्धित् भए पनि त्यो बेन्च मेरो एक्लो साम्राज्य बन्यो, अनि एक्लो राज पनि । त्यहीं साम्राज्यमा बसेर मैले सबै विषयमा पास हुने सपना बुन्न थालेँ ।
पहिलो त्रैमासिक परीक्षा आयो र मैले त्यो पाली बित्ताले ननापिकन उत्तरहरु लेखेँ । केही दयालु मन भएका सहपाठीले बाहेक मेरो परीक्षा कस्तो भयो भनेर कसैले सोधेनन् । सहज उत्तरको आशा भएकाले अरुको परीक्षाप्रति पनि मैले कुनै जिज्ञासा राखिन । मेरो उद्धेश्य भनेकै सबैमा पास हुनु थियो । अझै पनि दुई तीन बिषयमा ढुकचुक नै थियो । परीक्षा सकिएपछि रिजल्ट नआउन्जेल सधैं विद्यालयबाट फर्किदा हनुमान स्थानमा पुगेर दर्शन गर्न थालेँ । रिजल्ट आउने दिन आशीर्वाद लिन भद्रकाली मन्दिर नै पुगेँ । अन्जु मिसले रिजल्ट हातमा थम्याई दिँदा झन्डै–झन्डै मुटु छातीबाट बाहिर निस्किएको थियो । मिसले मुसुक्क हाँस्दै गणितमा क्लास टपेको बधाई दिदै पुरै बिषयमा पास भएको मार्कसिट हातमा राखिदिंदा मेरो खुसीको कुनै सिमा नै थिएन । त्यहीं दिन साँझ खुशीको खबर दिन बालाई फोन गरेँ तर सबै बिषयमा पास भएकाे खुशीले हाेला बाको पनि गला अवरुद्ध भयो । सायद बाका आँखा फेरि रसाएका होलान् ।

गणितमा क्लास टप गरेपछि मेरो शान केही बढ्यो । अन्जु मिसले मलाई पिसाबको दुर्गन्धित् एक्लो साम्राज्यबाट अगाडि ल्याउनु भयो । मेरो अभिमानसँगै साथीहरु पनि बढ्न थाले । गणितका हिसाब हल गर्दा कसैले मेसो नपाए सहयोगको याचना गर्दै फैलिने हातहरु मतर्फ पसारिन थाले ।
खेल्नै नआउने टेबलटेनिस, भलिबल जस्ता खेलमा पनि सहपाठीले ‘खेल न’ भन्ने अनुरोधका साथ पालो दिन थाले । एक चुट्कीमा म एकाएक सेलिब्रेटी बन्न पुगेँ । वैद्यखानाको उकालो चढ्दा कसैले पछाडिबाट ढुङ्गाले हाने के गर्ने भन्ने कुरा सोचेर आङ नै जिरिङ्ग पार्न नपर्ने भयो । घर जान कति दिन बाँकी छ भन्दै क्यालेन्डरमा गोलो लगाएरै बित्न थाले । बाआमा र चाडपर्वमा घरमा पाक्ने खिर हलुवाबाहेक अरु चिजको खासै याद आउन छाड्यो । मानाैँ कि काठमाडौ बिस्तारै मलाई आफ्नो लाग्न थाल्यो ।
मलाई के त्यो केटीले फेरि एक्लै भेट हुँदा टाई समातेर तानेर खाते भन्ली ? भन्ने कुराले सताइ रहन्थ्यो । साथीहरुसँग हुँदा दुई तीनपटक भेट भए पनि उसले खाते भने देखि उसँग एक्लै जम्काभेट भएको थिएन,  यदि भयाे के भन्ने हाेला भन्ने पिर मनबाट हटेकाे थिएन । एकदिन सरले बिर्सनु भएको हाजिर कपी लिन अफिस कोठामा जाँदा एक्कासि पुनः त्यहीं केटीसँग भर्याङको घुम्टीमा जम्काभेट भयो । मेरो स्वास ढक्क फुलेर आयो । हातखुट्टा लुला भए । म हलचल गर्न नसकी ठिङ्ग उभिइरहेँ । उसको अनुहार पनि रातो भएर आयो । एक्कासि उसले आफ्ना हातले दुबै कान समाती र भनी, “सरी दाइ, माफ गर्दिनुस् न है ?”
[ Published on Sallerikhabar :-  https://www.sallerikhabar.com/archives/91390 ]

No comments:

Post a Comment

Miseries of women suffering from mental illnesses

  “Why do you make these regular visits? Is it because you like me? Do you really want to have an intimate relationship with me? Please lock...

Don't miss...